`

जापानमा लगानीकर्ताको उत्साह, सेयर बजारमा उल्लेखनीय वृद्धि

Nepal One HD २८ साउन २०८२ ८:४२
विश्व

अमेरिकाबाट जापानले कर (ट्यारिफ) सम्बन्धी विशेष छुट प्राप्त गरेको पुष्टि भएपछि आज टोकियोको सेयर बजारमा उल्लेखनीय वृद्धि देखिएको छ । अमेरिकी बजारमा देखिएको सुधारको प्रभाव र जापानी कम्पनीहरूको सशक्त आर्थिक नतिजाले पनि बजारमा सकारात्मक संकेत थपेका छन् ।

प्रमुख सूचकांक ‘निक्केई’ २२५ आज ८९७.६९ अंकले अर्थात् २.१५ प्रतिशतले वृद्धि भई ४२ हजार ७१८.१७ मा पुग्न सफल भयो । यो विन्दु पछिल्ला १३ महिनाको सबैभन्दा उच्च स्तर हो ।
निक्केई भन्नाले जापानको प्रमुख सेयर बजार सूचकांकलाई जनाइन्छ, जसलाई ‘निक्केई २२५’ पनि भनिन्छ । यो सूचकांक टोकियो स्टक विनिमयमा सूचीकृत २२५ वटा ठूला तथा प्रभावशाली कम्पनीहरूको सेयर मूल्यको औसतका आधारमा गणना गरिन्छ । यसले जापानको समग्र सेयर बजारको प्रदर्शनलाई झल्काउने काम गर्छ । यो सूचकांक जापानी आर्थिक समाचार संस्था ‘निहोन केइजाई शिम्बुन’ द्वारा प्रकाशित तथा व्यवस्थापन गरिन्छ । जापानको अर्थतन्त्रको अवस्थाबारे बुझ्न यो एक महत्वपूर्ण मापन सूचक हो ।

बजारमा सकारात्मक धारणा बनिनुमा विशेष महसुल छुटको पुष्टि, सशक्त कर्पोरेट नतिजा तथा विदेशी छोटो अवधिका लगानीकर्ताहरूको सक्रियताले प्रमुख भूमिका खेलेका छन् । यसका साथै, डलरसँगको तुलनामा येनको विनिमय दर करिब १४८ मा झरेको हुँदा निर्यातमुखी कम्पनीहरूको सेयरमा विशेष रूपमा सुधार आएको हो ।

टोकियो स्टक एक्सचेन्जको टोपिक्स सूचकांक पनि आज ४२.१६ अंकले, अर्थात् १.३९ प्रतिशतले बढेर तीन हजार ६६.३७ मा बन्द भएको छ, जुन लगातार दोस्रो दिनको कीर्तिमानी बन्द हो ।
आजको कारोबारमा प्राइम बजारमा ९६४ कम्पनीका सेयरहरू बढेका छन् भने ६०० कम्पनीका सेयर घटेका र ५९ कम्पनी स्थिर रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *