प्रधानमन्त्रीले तुर्किमेनिस्तान भ्रमणबारे सदनलाई गराए जानकारी


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा सम्पन्न तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनबारे प्रतिनिधिसभालाई जानकारी गराएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रमणबारे जानकारी गराएका हुन् ।
भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिएर प्रधानमन्त्री ओली साउन २३ गते फर्किएका थिए ।
नेपाल अध्यक्ष रहेको एलएलडिसी समूहको सम्मेलन यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना भएको थियो ।उक्त कार्यक्रममा सहभागिता जनाउन प्रधानमन्त्री ओली साउन १८ गते मध्यराति त्यसतर्फ गएका थिए ।
सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए ।
सम्मेलनका अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखसँग र संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका उच्चपदस्थ अधिकारीहरूसँग पनि भेटवार्ता गरेका थिए ।
प्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय भ्रमण टोलीमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल लगायत उच्चपदस्थ सरकारी अधिकारी, अफिसियल मिडियाकर्मी र सुरक्षाकर्मीसमेत थिए ।