`

नेपालले आईएमएफमा सेयर हिस्सा बढायो, अब मताधिकार र कर्जा सुविधा पनि बढ्न

Nepal One HD ५ भदौ २०८२ ११:१४
अर्थ समाचार

काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)मा आफ्नो सेयर हिस्सा बढाउने भएको छ । हाल १५९ दशमलब ९ मिलियन एसडीआर रहेको नेपालको फन्ड कोटा २३५ दशमलव ३५ मिलियन बनाउन लागेको हो।

गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले आईएमएफ सदस्यको राष्ट्रको फन्ड कोटा ५० प्रतिशतले बढाउने प्रस्तावको पक्षमा सहमति दिएको थियो । अब सरकारले ७८ दशमलव ४५ मिलियन एसडीआर थप गर्नेछ ।

यो रकममध्ये २५ प्रतिशत अर्थात् ३ अर्ब ७५ करोड रुपैयाँ चालु आर्थिक वर्षको विनियोजित बजेट र बाँकी ७५ प्रतिशत नेपाल राष्ट्र बैंकको नाममा प्रमिसरी नोट (अर्थपत्र) जारी गरी भुक्तानी गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयअनुसार आर्थिक वर्ष ०८१/८२ सम्म आइएमएफमा नेपालको सेयर लगानी ६ अर्ब ५८ करोड ७५ लाख रुपैयाँ छ।

आईएमएफमा कोटा भनेको सेयर हिस्सा (कित्ता जस्तै) हो । कोटा आईएमएफको वित्तीय तथा गभर्नेन्स स्ट्रक्चर पनि हो । कोटाको इकाइ स्पेसियल ड्रइङ राइट (एसडीआर) हो ।

कोटाको अर्थ विश्वको अर्थतन्त्रमा सम्बन्धित देशको हिस्सा कति छ भन्ने पनि हुन्छ । यसले आईएमएफको स्रोतमा देशको हिस्सा, आईएमएफको निर्णयमा मतको हिस्सा पनि जनाउँछ भने साधारण अवस्थामा सम्बन्धित देशले पाउने ऋणको सीमा पनि तय गर्दछ ।

हालको १५६ दशमलव ९ कोटामा ३ हजार २१ मत छ । जसअआधारमा नेपालको मतको हिस्सा ० दशमलव ९३ प्रतिशत र भोटको हिस्सा ० दशमलव ०६ प्रतिशत छ ।

एक एसडीआर बराबर १ दशमलव ३६ अमेरिकी डलर हुन्छ । अर्थात् आईएमएफमा नेपालको कुल सेयर ३२ करोड २१ लाख अमेरिकी डलर (४४ अर्ब ७७ करोड रुपैयाँ) बराबरको हुनेछ ।

नेपालले ७८ दशमलव ४५ मिलियन एसडीआर थप गरी कोटा बढाउँदा आईएमएफलाई १० करोड ७३ लाख अमेरिकी डलर (करिब १५ अर्ब रुपैयाँ) दिनुपर्ने हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *