युआनलाई बलियो बनाउने चीनको रणनीति


काठमाडौं । चीनले पहिलोपटक चिनियाँ मुद्रा युआन-समर्थित स्टेबलक्वाइनको प्रयोगलाई अनुमति दिने विचार गरिरहेको छ । यसले विश्वव्यापी रूपमा आफ्नै मुद्राको प्रयोगलाई बढावा दिनेछ । यो कदम डिजिटल सम्पत्तिप्रति चीनको अघिल्लो धारणा उल्ट्याउने ठूलो संकेत दिन्छ।
चीनको मन्त्रिपरिषद् (स्टेट काउन्सिल) ले यस महिनाको अन्त्यसम्ममा एक रोडम्याप समीक्षा गर्ने र सम्भवतः अनुमोदन गर्ने अपेक्षा गरिएको छ । यसले विश्वभर युआनको प्रयोगलाई विस्तार गर्ने मात्र नभई अमेरिकाले अघि बढाएको स्टेबलक्वाइन रणनीति पनि समेट्ने रोयटर्सले जनाएको छ ।
योजनामा विश्व बजारमा चिनियाँ मुद्राको प्रयोगका लक्ष्य र घरेलु नियामकहरूको जिम्मेवारीसमेत समावेश हुनेछ । साथै, रोडम्यापमा जोखिम व्यवस्थापनका दिशानिर्देशहरू पनि हुनेछन् ।
मुलुकको वरिष्ठ नेतृत्वले यसै महिनाको अन्त्यसम्मै एक अध्ययन सत्र बोलाउने अपेक्षा गरिएको छ, जसमा युआन अन्तर्राष्ट्रियकरण र स्टेबलक्वाइन जस्ता विश्वव्यापी रूपमा बढ्दो प्रवृत्तिमा केन्द्रित गरिनेछ ।
त्यस्तो बैठकमा वरिष्ठ नेताहरूले स्टेबलक्वाइन सम्बन्धी धारणा प्रष्ट पार्ने र यसको व्यवसायिक प्रयोग तथा विकासका सीमा निर्धारण गर्ने सम्भावना छ ।
चीनले स्टेबलक्वाइन प्रयोग गर्ने योजनालाई अनुमोदन गरेमा, यो डिजिटल सम्पत्तिप्रति चीनको दृष्टिकोणमा ठूलो परिवर्तन हुनेछ । चीनले २०२१ मा वित्तीय प्रणालीको स्थिरताप्रति चिन्ता व्यक्त गर्दै क्रिप्टोकरेन्सी ट्रेडिङ र माइनिङ प्रतिबन्ध लगाएको थियो ।
चीनले लामो समयदेखि युआनलाई अमेरिकी डलर वा युरोजस्तै विश्वव्यापी मुद्रा बनाउन चाहेको छ । तर, कडाइका साथ लागू गरिएका पुँजी नियन्त्रण र हरेक वर्षको ट्रिलियन डलरभन्दा बढीको व्यापार अधिशेषले त्यस लक्ष्यलाई अवरुद्ध गरेको छ ।