`

मासिक ५०० बालबालिकालाई स्वर्णबिन्दु खुवाउँदै आयुर्वेद तथा वैकल्पिक चिकित्सालय

Nepal One HD ६ भदौ २०८२ १२:०१
जीवनशैली/स्वास्थ्य

चितवन । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, रत्ननगरले विगत दुई वर्षदेखि बालबालिकालाई स्वर्ण बिन्दु प्राशन खुवाउँदै आएको छ । बागमती प्रदेश सरकारअन्तर्गतको यो अस्पतालमा मासिक ५०० बालबालिकाले यसको सेवन गर्दै आएको जनाइएको छ ।

चिकित्सालयका प्रमुख डा कोपिला अधिकारीका अनुसार स्वर्णबिन्दु प्राशन एक आयुर्वेदिक औषधीय मिश्रण हो, जसमा स्वर्ण भस्म, घ्यू, महलगायत जडीबुटी मिसाएर तयार गरिन्छ । यो मिश्रण विशेषतः पुस्य नक्षत्रको दिन बालबालिकालाई खुवाइन्छ, जुन आयुर्वेदिक मान्यताअनुसार अत्यन्त शुभ र प्रभावकारी मानिन्छ ।

उनले भने, “विभिन्न अध्ययनहरूले देखाएका छन् की स्वर्णबिन्दु सेवन गरेका बालबालिकाहरूलाई अस्पताल जानु नपर्ने सम्भावना बढी हुन्छ । ती बच्चाहरूको रोग प्रतिरोधात्मक क्षमता (इम्युन सिस्टम) पनि बलियो भएको पाइन्छ । औषधि सेवन गर्ने र अस्पताल भर्ना हुने दरसमेत कम भएको देखिएको छ ।” तत्कालै ज्वरो रुघा तथा पखाला लागेका बचामा यो खुवाउन नमिल्ने उनले जानकारी दिए । मुख्यतः छ महिनादेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई यो खुवाउने गरिएको डा अधिकारीले बताए ।

चिकित्सालयका बालरोग विशेषज्ञ डा शुसान्त भण्डारीका अनुसार स्वर्णबिन्दु प्राशनले बालबालिकाको बौद्धिक र शारीरिक विकासमा सकारात्मक प्रभाव पार्दछ । नियमित सेवन गरेका बालबालिकामा रोग प्रतिरोधात्मक क्षमतामा सुधार आएको र मानसिक क्षमता (तिक्ष्णता) समेत वृद्धि भएको देखिएको छ ।

स्वस्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रव्यापी रुपमा स्वर्ण बिन्दु प्राशन कार्यक्रम लागू गर्ने उद्देश्यले २१ वटा आयुर्वेद चिकित्सालय तथा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट बिहीबारदेखि यो कार्यक्रम लागू गरेकोे छ । केन्द्रको घोषणा हुनु झण्डै दुई वर्षअघि चिकित्सालयले आफ्नै निर्देशिका वनाएर यो सेवन गराउँदै आएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *