`

एक महिनामै ६८ हजार बढीले लिए श्रम स्वीकृति

Nepal One HD ८ भदौ २०८२ १०:१४
अर्थ समाचार

काठमाडौं । चालु आर्थिक २०८२/८३ साउनमा मात्रै ६८ हजार ११० जनाले श्रम स्वीकृति लिएका छन् । जुन गत आवको तुलनामा बढी हो । वैदेशिक रोजगार विभागका अनुसार गत आवको सोही अवधिमा ५९ हजार ५७५ जनाले श्रम स्वीकृति लिएका थिए ।

पछिल्लो समय श्रम गन्तव्यबाट माग बढी आएका कारण वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको विभागले जनाएको छ । करार रद्द गरेर आएका श्रमिक पनि स्वदेशमा केही विकल्प नदेखिपछि नयाँ श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने प्रवृत्ति बढ्दै गएको हो ।

श्रमिक स्रोत देश नेपालको आन्तरिक रोजगारीमा आएको कमी र गन्तव्य मुलुकमा श्रमिक अभाव भएका कारण पनि श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको श्रमका जानकारहरू बताउँछन् ।

विभागका अनुसार पछिल्लो चार वर्षमा २९ लाख ९८ हजार २६६ युवाले रोजगारी खोज्दै नेपाल छोडेका छन् । चार वर्षको तथ्याङ्कलाई औसत गर्दा वार्षिक सात लाख ४५ हजार ६६ युवाशक्ति रोजगारी खोज्दै विदेश गएको देखिन्छ । यो सङ्ख्या पुनः श्रम स्वीकृति लिएर गएका समेतको हो । विदेश जान श्रम स्वीकृति लिएकामध्ये ६४ प्रतिशत नयाँ श्रमिक हुने गरेका छन् भने ३६ प्रतिशत बिदामा आएर पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *