`

सेयर कर्जा एक वर्षमै दोब्बरले बढ्यो

Nepal One HD १० भदौ २०८२ १२:३१
अर्थ समाचार

काठमाडौं । सेयर धितो कर्जामा बैंक तथा वित्तीय संस्थाको लगानी दोब्बरले बढेको छ । गत आर्थिक वर्ष २०८१/८२ को असार मसान्तमा बैंक तथा वित्तीय संस्थाले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १ खर्ब ४० अर्ब ७० करोड रुपैयाँ लगानी गरेका हुन् । जुन अघिल्लो आर्थिक वर्षको भन्दा ५० अर्ब अर्थात् ५६ दशमलव १७ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा ९० अर्ब ९ करोड रुपैयाँ लगानी गरेका थिए ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा फाइनान्स कम्पनीले मात्रै सेयर धितो कर्जाको लगानी ४ दशमलव २७ प्रतिशतले बढाएका छन् । अघिल्लो आर्थिक वर्ष ४ अर्ब १५ करोड रुपैयाँ लगानी गरेका फाइनान्स कम्पनीले गत आर्थिक वर्षको सोही अवधिसम्म आईपुग्दा बढाएर कुल ४ अर्ब ३५ रुपैयाँ लगानी गरेका हुन् ।

यस्तै, सेयर धितो कर्जामा अघिल्लो आर्थिक वर्षमा १५ अर्ब ५९ करोड रुपैयाँ लगानी गरेका विकास बैंकहरूले गत वर्षको सोही अवधिमा २५ दशमलव ३१ प्रतिशतले बढाएर १९ अर्ब ५४ करोड रुपैयाँ लगानी गरेका हुन् ।

अघिल्लो आर्थिक वर्षमा ७० अर्ब ३ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका वाणिज्य बैंकले गत आर्थिक वर्षमा ६६ दशमलव ०५ प्रतिशतले बढाएर १ खर्ब १६ अर्ब ८० करोड रुपैयाँ पुर्‍याएका हुन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष यस्तो कर्जा प्रवाह सर्वाधिक बढाउने माछापुच्छ्रे बैंक रहेको छ । अघिल्लो आर्थिक वर्षमा ४६ करोड रुपैयाँ लगानी गरेको माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षमा ४४२ दशमलव १० प्रतिशतले बढाएर २ अर्ब ५३ करोड रुपैयाँ पुराएको छ । नेपाल एसबीआई बैंकले गत वर्षको अन्त्यसम्म आईपुग्दा २०७ दशमलव १५ प्रतिशतले बढाएर यस्तो कर्जा ६१ करोड रुपैयाँ लगानी पुराएको छ ।

त्यस्तै, आर्थिक वर्षको असारसम्ममा मार्जिन प्रकृतिको सेयर धितो कर्जामा नबिल बैंकले सर्वाधिक १६ अर्ब ७६ करोड, ग्लोबल आईएमई बैंकले १२ अर्ब ३० करोड, कुमारी बैंकले १० अर्ब ४३ करोड रुपैयाँ लगानी गरेको तथ्यांक छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *