`

‘औद्योगिक क्रान्तिका लागि समाजवादको खाँचो छ’ : झलनाथ खनाल

Nepal One HD २१ भदौ २०८२ १९:५३
राजनीति

काठमाडौँ, २१ भदौः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा आर्थिक तथा सामाजिक रूपान्तरणका लागि औद्योगिक क्रान्ति गर्न समाजवादको खाँचो रहेको बताउनुभएको छ ।

पार्टी निकट नेपाल स्वतन्त्र सडक व्यापार सङ्गठनको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले मुलुकमा गरिबी, पछौटेपन, विभेद्को अन्त्य गरी आर्थिक तथा सामाजिक रूपान्तरणका लागि कम्युनिष्ट पार्टीको स्थापना भएको उल्लेख गर्नुभयो । उहाँले समाजवादबाट मात्रै औद्योगिक क्रान्ति सफल हुने धारणा राख्नुभयो ।

अहिले कम्युनिष्ट पार्टी नीति तथा सिद्धान्त विहीन भएकाले नेताको आदर्श र जीवनशैलीमा विचलन देखापरेको बताउँदै नेता खनालले राजनीतिमा विकृति र विसङ्गति देखिएकाले त्यसलाई सुधार्न विभिन्न वामपन्थी शक्तिलाई एकताबद्ध गर्नुपर्नेमा जोड दिनुभयो ।

लिपुलेकका विषयमा सरकारले भारतसँग कूटनीतिक र राजनीतिक रूपमा उच्चस्तरीय छलफल गर्नुपर्ने बताउँदै उहाँले राष्ट्रियताको सवालमा सबै दलको साझा सहमति हुन जरुरी रहेकामा जोड दिनुभयो ।

मानसरोवर जोड्ने भूमि लिपुलेक नेपालको भएको ऐतिहासिक तथ्य र आधारहरू रहेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न भारत भ्रमणका क्रममा उक्त विषयमा प्रष्ट धारणा राख्नुहुने नेता खनालले विश्वास व्यक्त गर्नुभयो । उहाँले राष्ट्र र राष्ट्रियताका विषयमा सबैको साथ र सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *