इजरायलद्वारा ‘मानवता क्षेत्र’ घोषणा, गाजा सिटीमा सैन्य कारबाही तीव्र


इजरायली सुरक्षाबल (आईडीएफ) ले गाजा सिटीमा सैन्य कारबाही अगाडि बढाउने तयारी गर्दै गाजाको दक्षिणी क्षेत्र खान युनुसमा नयाँ ‘मानवता क्षेत्र’ घोषणा गरेको छ । तर, गाजा सिटीका अधिकांश बासिन्दाहरूले उक्त स्थानतर्फ सर्न अस्वीकार गरेका छन् ।
३८ वर्षीय चार सन्तानका पिता सामेर अबु सामराले भन्नुभयो, “हामीलाई पहिले नै भीडभाड भएको ठाउँमा जान भनिएको छ । न त हामीसँग त्यहाँ जाने साधन छ, न त बस्ने पाल । हामी भोक र थकानले ग्रस्त छौं ।”
त्यसैगरी गाजाका शिक्षक नासेर अल–अत्तरले अनुभव सुनाउँदै भन्नुभयो,“पहिले दक्षिणतिर विस्थापित भएको थिएँ, त्यो मेरो जीवनकै सबैभन्दा पीडादायी अनुभव थियो। दक्षिण पनि सुरक्षित छैन । हामी यहाँ रहनु कुनै बहादुरी होइन, विकल्पको अभाव हो ।”
अल–शाती शरणार्थी शिविरमा आंशिक रूपमा ध्वस्त भएको घरबाहिर बसेका अबु लुअईले भन्नुभयो,“घेराबन्दी, भोकमरी र बमवर्षा सबै उपाय प्रयोग गरियो । उनीहरूको उद्देश्य शहर खाली गराउनु हो। तर, हामीका लागि यहीँ बस्नु नै एकमात्र विकल्प हो ।”
स्थानीय सामाजिक कार्यकर्ताहरूका अनुसार करिब ८० प्रतिशत गाजा सिटीका बासिन्दाहरू अझै पनि शहरमै रहेका छन् ।इजरायली सेनाले शनिबार दिएको वक्तव्यअनुसार,“गाजा सिटीमा जारी स्थल कारबाही तथा हमासका किल्लाहरू कब्जा गर्ने अभियान अन्तर्गत नयाँ मानवीय क्षेत्रको व्यवस्था गरिएको हो, जहाँ खाद्यान्न, औषधि, टेन्ट र अन्य आवश्यक सामग्रीको आपूर्ति सुनिश्चित गरिनेछ ।”
यद्यपि, गाजा सिटीमा इजरायली सैन्य कारबाही अझै तीव्र बनाइएको छ । हालै इजरायली हवाई आक्रमणमा शहरका उच्च आवासीय टावरहरूलाई ध्वस्त पारिएको छ । शुक्रबार १३ तलाको मुश्ताहा टावर ध्वस्त पारिएको थियो, जसबारे इजरायली पक्षले हमासले त्यहाँ गुप्तचरी उपकरण राखेको दाबी गरे पनि टावर प्रशासनले उक्त दाबी अस्वीकार गरेको छ ।शनिबार फेरि १५ तलाको अल–सुसी टावरमाथि बमवर्षा गरिँदा केही मिनेटमै भवन पूर्ण रूपमा ध्वस्त भयो, वरपरका घर, पसल र सडकहरूमा पनि ठूलो क्षति पुगेको छ ।
गाजाका नागरिक सुरक्षाका प्रवक्ता महमुद बसालले भन्नुभयो, “बमवर्षाको उद्देश्य नागरिकहरूलाई डर देखाएर शहर छाड्न बाध्य पार्नु हो ।”
हमासले भने पछिल्ला आक्रमणहरूलाई ‘व्यवस्थित रूपमा गरिने जबरजस्ती विस्थापन नीति’ भन्दै आलोचना गरेको छ । साथै, अगस्ट १८ मा कतार र इजिप्टले प्रस्ताव गरेको ६० दिने युद्धविराममा आफूहरू अझै प्रतिबद्ध रहेको पनि बताएको छ ।
हमासले भनेको छ, “भविष्यको कुनै पनि सम्झौताले गाजाबाट इजरायली सेना पूर्ण रूपमा फिर्ता हुनु, मानवीय सहायता निर्बाध रूपमा प्रवेश पाउनु र अन्तर्राष्ट्रिय मध्यस्थतामा कैद विनिमय वार्ता हुनु आवश्यक छ ।”
सन् २०२३ मा हमासले इजरायलको दक्षिण क्षेत्रमा गरेको आक्रमणबाट झण्डै एक हजार २०० मानिसको ज्यान गएको थियो र करिब २५० जना बन्धक बनाइएका थिए । त्यसयता इजरायली आक्रमणबाट गाजामा ६४ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ भने एक लाख ६१ हजार जना घाइते भएको गाजास्थित स्वास्थ्य निकायले जनाएको छ ।
शनिबार कतारी प्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीले बेलायती विदेशमन्त्री इभेट कुपरसँग टेलिफोन वार्ता गर्दै गाजामा युद्ध अन्त्य गर्ने प्रयासमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहयोग बढाउन आग्रह गर्नुभयो ।