कजेजको पढाइ सकेर प्रदर्शनमा मिसिएका श्रीयम जेन्जी आन्दोलनमा अस्ताए


काठमाडौं । ग्लोबल कलेजमा कक्षा १२ मा अध्ययनरत श्रीयम चौंलागाईं अरु दिन जसरी घर पुग्न पाएनन् । विहानको पढाइ सकिएपछि जेनजी आन्दोलनमा मिसिएका उनको प्रहरीको गोली लागि दुःखद निधन भएको छ ।
ग्लोबल कलेजमा ११ बजेसम्म बिहानीको कक्षा पढिसकेर पेप्सीकोलास्थित घर फर्किने क्रममा श्रीयम आन्दोलनमा मिसिएको पाइएको छ । उनीसँग एक साथी थिए । कलेजबाट बस चढेर आएका उनीहरु दुवै बानेश्वर नजिक ओर्लिए ।
‘उनीहरु आन्दोलनमा जाने भनेर सल्लाह गरेर नै आएका रहेछन् । बाटोमा काम छ भनेर ओर्लिए’, स्रोतले भन्यो । श्रीयमको ट्रमा सेन्टरमा उपचारका क्रममा निधन भएको जानकारी प्राप्त भएको कलेजका प्रिन्सिपल अम्बादत्त जोशीले जानकारी दिएका छन् । श्रीयमलाई कहाँ कसरी गोली लाग्यो भन्ने खुलिसकेको छैन । उनी विद्यालयको पोशाकमा थिए ।
प्रिन्सिपल जोशी भन्छन्, ‘कलेजबाट गइसकेपछि विद्यार्थीहरु कता जान्छन् भन्ने हाम्रो जानकारीमा हुँदैन । हामीले विद्यार्थीहरुलाई आन्दोलनतिर नजानु भनेर भनेका चाहिँ थियौं ।’ सामाजिक सञ्जालमा अहिले श्रीयमको भनेर आन्दोलनमा सँगै गएका उनका साथीको फोटो शेयर भइरहेको छ । अर्का बालक भने सकुशल रहेको प्रिन्सिपल जोशीले जानकारी दिए । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागि काठमाडौँमा १८ र सुनसरीको इटहरीमा २ जनाको ज्यान गएको छ । अढाई सय बढी घाइते छन् ।