`

अमेरिकी भिसा सुधार बिना कोरियाली लगानीमा हिचकिचाहट :राष्ट्रपति ली

Nepal One HD २६ भदौ २०८२ १६:१३
विश्व

दक्षिण कोरिया । दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले संयुक्त राज्य अमेरिकाले कोरियाली कामदारहरूका लागि भिसा प्रणाली सुधार गर्न नसके कोरियाली कम्पनीहरूले त्यहाँ लगानी गर्न वा हालको लगानीलाई निरन्तरता दिन हिचकिचाउने चेतावनी दिएको छ ।

आफ्नो कार्यकालको एक सय दिन पुरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनले सेप्टेम्बर ४ मा जर्जियामा भएको आप्रवासन छापामारीबारे पनि प्रष्ट्याएका छन् । सो घटनामा ह्युन्डाईको निर्माणाधीन ब्याट्री कारखानामा काम गर्ने तीन सयभन्दा बढी कोरियाली कामदार पक्राउ परेका थिए । लीका अनुसार वार्तापछि ती कामदारहरूलाई चार्टर विमानमार्फत शुक्रबार स्वदेश फर्काइने तयारी गरिएको छ ।

छापामारीपछि दक्षिण कोरियामा व्यापक आक्रोश चर्किएको छ । अमेरिकी अधिकारीहरूले केही कामदारलाई जञ्जिरले बाँधिएको भिडियो सार्वजनिक गरेपछि विश्वासघातको भावना बढेको थियो । यो कदम राष्ट्रपति डोनाल्ड ट्रम्प र लीबीचको शिखर बैठकको दुई साताभन्दा कम समयमा आएको हो । त्यही बेला सियोलले अमेरिकी उच्च करबाट छुट पाएको थियो र तीन खर्ब ५० अर्ब डलर बराबरको नयाँ लगानी गर्ने वाचा गरेको थियो ।

सत्तारूढ र विपक्षी दुवै सांसदहरूले छापामारीलाई अपमानजनक भनेका छन् । प्रमुख पत्रिकाले यसलाई ‘खरायोको शिकार’ भन्दै आलोचना गरेको छ ।

लीले भने, “यो दीर्घकालीन कामदारहरूको विषय होइन । कारखाना निर्माण वा उपकरण जडानका लागि छोटो अवधिका टेक्निसियनहरू आवश्यक हुन्छन् । तर अमेरिकाले आफ्नै जनशक्ति नभएको अवस्थामा पनि हामीलाई आवश्यक भिसा दिन अस्वीकार गर्छ । यस्तो भएमा हाम्रो कम्पनीहरूलाई त्यहाँ लगानी गर्न गाह्रो हुन्छ ।”

उनका अनुसार, छापामारीले दुई देशबीच आप्रवासनसम्बन्धी ‘सांस्कृतिक भिन्नता’ देखाएको छ । उहाँले उदाहरण दिँदै भने, “दक्षिण कोरियामा अमेरिकीहरू पर्यटक भिसामा आएर निजी क्र्याम स्कुलहरूमा अङ्ग्रेजी पढाउँछन्, हामी यसलाई समस्या मान्दैनौँ । तर अमेरिकाले त्यस्तो सहन सक्दैन ।”

वासिङ्टनमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँगको भेटपछि दक्षिण कोरियाली विदेशमन्त्री चो ह्युनले हिरासतमा परेकाहरूलाई आफ्ना काम पूरा गर्न अनुमति दिने सहमति भएको बताए । साथै नयाँ भिसा कोटाबारे छलफल गर्न संयुक्त कार्य समूह गठन गर्ने निर्णय भएको छ ।

तर चोले चेतावनी दिएका छन्, “यदि भिसा समस्याको समाधान भएन भने अझ धेरै कोरियाली कामदार भविष्यमा पनि यस्तै धरपकडको जोखिममा पर्न सक्छन् ।”

जर्जियाको ब्याट्री प्लान्ट त्यस्ता २० भन्दा बढी औद्योगिक परियोजनामध्ये एक हो जुन कोरियाली कम्पनीहरूले अमेरिकामा निर्माण गरिरहेका छन् । यसमा टेक्सासको सेमिकन्डक्टर कारखाना र फिलाडेल्फियाको जहाज निर्माण परियोजना पनि पर्छन्, जसलाई राष्ट्रपति ट्रम्पले बारम्बार कोरिया–अमेरिका साझेदारीका उदाहरणका रूपमा प्रस्तुत गरेका छन् ।

दक्षिण कोरियाली विज्ञ मिन जियोंघुनका अनुसार, समाधानको जिम्मा मुख्यतया अमेरिकाकै हातमा छ । कानूनी व्यवस्था वा छोटो अवधिका कार्य भिसा विस्तारमार्फत मात्र समस्याको निकास सम्भव हुन्छ ।

उनले भने, “यदि भिसा नीतिमा अद्यावधिक भएन भने कोरियाली कम्पनीहरूले आफ्ना कामदार पठाउन सक्दैनन्, जसले अमेरिकी उद्योग विस्तारमा ढिलाइ ल्याउनेछ र त्यसको प्रत्यक्ष हानि अमेरिकी अर्थतन्त्रलाई हुनेछ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *