स्वास्थ्य मन्त्रालयको काम अब अनुसन्धान परिषद्को भवनबाट


काठमाडौं । सिंहदरबार बाहिर रहेको स्वास्थ्य मन्त्रालयले आफ्नो दैनिक काम नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट गर्ने तयारी गरेको छ । आइतबार सबै कर्मचारीलाई उपस्थित गराई काम सुरु गर्न लागेको स्वास्थ्य मन्त्रलयका सचिव डा.विकास देवकोटाले जानकारी दिए ।
नेपाल न्यूज बैकंसँगको कुराकानीमा सचिव डा.देवकोटाले आन्दोलनपछिको क्षतिग्रस्त भवनलाई पहिला सरसफाई गरिने साथै मन्त्रालयमा सुरक्षित रहेका कागजात एवम सामानहरु पनि संकलन गरिने बताए ।
उनले भने,‘आइतबार र सोमबार सरसफाई गर्ने योजनामा छौं । नियमित काम भने हाल मन्त्रालय भवन रहेको पछाडिपट्टी रहेको स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट गर्ने कि भन्नेमा छौं ।
त्यहाँ दुईवटा भवनहरु छन्, जसमध्ये नयाँ भवन सन्चालनमा आएको छैन । पुरानो भवनमा केही कोठाहरु लिएर काम सुरु तयारीमा छौं ।’त्यस्तै उनले तत्काल आवश्यक पर्ने काजजात वा डाटाहरु कर्मचारीहरुको इमेल वा हार्डडिस्क साथै कम्युटरबाट प्रिन्ट गरेर सुरु गर्ने पनि जानकारी दिए ।