भारतमा गाडी दुर्घटनामा ज्यान गुमाउने चार नेपालीमध्ये तीन जना एकै घरका


काठमाडौं । भारतको हिमाञ्चल प्रदेशको राजधानी सिमलामा हिजो भएको गाडी दुर्घटनामा ज्यान गुमाउने चार नेपालीमध्ये तीन जना एकै घरका भएको खुलेको छ । सल्यानको कुमाख गाउँपालिका– ४ बाट रोजगारीको लागि हिमाञ्चल पुगेका उनीहरूको सोमबार भएको सवारी दुर्घटनामा मृत्यु भएको माओवादी केन्द्रका नेता रमेश मल्लले जानकारी दिएका छन् ।
हिमाञ्चल प्रदेशको कोटखाई नजिक कुड्डु नालाको गाडी दुर्घटना हुँदा सल्यानको कुमाख– ४ निवासी ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीया लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्टको मृत्यु भएको हो।दुर्घटनामा नवराज शाही र हिमबहादुर शाही घाइते छन् । दुर्घटनामा ज्यान गुमाउने लक्ष्मी नवराजकी पत्नी हुन् । नवराज र हिमबहादुर गाडीको डाला पछाडि बसेकाले फाल हानेर जोगिएका छन् । ज्यान गुमाउने लक्ष्मी डिल्लीबहादुरकी माइला दाइकी बुहारी हुन् भने एकेन्द्र डिल्लीबहादुरका जेठा दाइका छोरा हुन् ।
घाइतेको स्थानीय सरकारी अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानले भने यस सम्बन्धी कुनै पनि जानकारी आफूहरूलाई अहिलेसम्म प्राप्त नभएको जनाएको छ । दुर्घटनामा गाडी चालक भारतीय नागरिक जोगिन्दर सिंहको पनि मृत्यु भएको छ । मृतक सबैको पोष्टमार्टमपछि शव नेपाल ल्याउने तयारी छ । मृतकलाई किरिया खर्चसहित भारतीय पक्षले चार लाख २५ हजारका दरले राहत दिने जानकारी गराएको मल्लले बताएका छन् ।