सहिद विजय चौधरीको परिवारलाई नगरद्वारा खाद्यान्न प्रदान


सिरहा । ‘जेनजी’ आन्दोलनका क्रममा काठमाडौँमा प्रहरीको गोली लागेर सहिद भएका लहान–१५ सिमलटोकीका विजय चौधरीको परिवारलाई लहान नगरप्रमुख महेशप्रसाद चौधरीले शुक्रबार घरमै पुगेर खाद्यान्न सामग्री प्रदान गरेका छन् ।
नगरप्रमुख चौधरीले लहान नगरपालिकाको तर्फबाट तत्काल राहतस्वरूप एक क्विन्टल चामल, पाँच किलो दाल, पाँच लिटर तेल र पाँच किलो नुन हस्तान्तरण गरेका हुन् । यसअघि बिहीबार आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख चौधरीले सहिद विजयको परिवारलाई रु एक लाख नगद राहत उपलब्ध गराउने घोषणा गरेको थिए।
साथै, सहिद चौधरीकी चार वर्षीया छोरीको कक्षा १२ सम्मको शिक्षाको पूर्ण व्यवस्था गर्ने र श्रीमतीलाई योग्यताअनुसारको रोजगारीको अवसर उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
त्यस्तै लहान–१५ मै सहिद विजयको स्मृतिमा सहिद पार्क बनाउन पहल गरिने पनि उनले जानकारी दिए। सो अवसरमा, पीडितपरिवारप्रति सहानुभूति प्रकट गर्दै सामाजिक संस्था ‘होप फाउन्डेसन’ की अभियन्ता पार्वती सुब्बाले पनि पीडित परिवारलाई घरमै पुगेर रु १० हजार नगद सहयोग हस्तान्तरण गरेका छन् ।
गत भदौ २३ गते काठमाडौँमा भएको प्रदर्शनमा प्रहरीको गोली लागि २७ वर्षीय विजय चौधरीको निधन भएको थियो । नौ दिनपछि यही मङ्गलबार उनको गाउँमा अन्तिम संस्कार गरिएको थियो । उनका आमाबुबा, एक दाजु र एक दिदी पनि छन् ।
यसअघि सरकारले आन्दोलनमा मृत्यु भएकालाई सहिद घोषणा गरिसकेको छ । साथै मृतकका परिवारलाई प्रतिव्यक्ति रु १५ लाख राहत उपलब्ध गराउने निर्णयसमेत गरिएको छ ।