तुइन खोला नजिकै पहिरो जाँदा मुग्लिनमा हजारौँ यात्रु अलपत्र, मन्त्रालयमा आकस्मिक बैठक

राजनीति

काठमाडौँ । मुग्लिन–नारायणगढ सडक खण्डमा पर्ने तुइन खोला नजिकै पहिरो जाँदा शुक्रबार साँझदेखि हजाराैँ यात्रु अलपत्र परेका छन् । काठमाडौँ भित्रिने र बाहिरिने सवारी लामो समयसम्म रोकिँदा हजाराैँ यात्रुहरू मर्कामा परेका हुन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार हिजो साँझ ६ बजे यता यात्रुवाहक तथा मालवाहक सवारी साधनहरू गन्तव्यमा पुन सकेका छैनन् । साथै सडकको दुरावस्था र खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा गम्भीर समस्या देखिएको छ ।
सरकारले चाडपर्वलाई मध्यनजर गरी सडक मर्मत सम्भार नै नगरेको दाबी उनले गरे । जसका कारण अहिले सवारी आवतजावतमा समस्या भएको उनको भनाइ छ ।
साथै यही विषयलाई मध्यनजर गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बैठक बोलाएको समेत बताए । सिटौलाले दिएको जानकारीअनुसार हालको गम्भीर अवस्थालाई मध्यनजर गर्दै मन्त्रालयमा आज बिहान ११ बजे एक महत्त्वपूर्ण बैठक बोलाइएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङको अध्यक्षतामा बस्ने यस बैठकमा सडक विभाग, गृह मन्त्रालय, यातायात व्यवसायी महासङ्घ र मजदुर लगायतका सबै सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी हुनेछन् । बैठकमा विशेष गरी चाडपर्वमा यात्रुहरूलाई गन्तव्यसम्म पुर्याउने र अवरुद्ध सडकहरू खोल्ने विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट