जेनजी आन्दोलनका घाइते भन्छन्–होस आउँदा देशमा उथलपुथल भइसकेछ

प्रमुख खबर

काठमाडौं । ‘जेनजी’ आन्दोलनका घाइते २५ वर्षीय मदन कार्की सिन्धुपाल्चोक बलेफी–८ का स्थायी बासिन्दा हुन् । केही वर्षदेखि काठमाडौँमा भिडियोग्राफी गर्दै आएका उनी भक्तपुर निकोसेरास्थित डेराबाटै काम गरिरहेका थिए ।
गत भदौ २३ गते जेनजीको भ्रष्टाचार र बेथितिविरुद्धको आन्दोलनमा सहभागी हुने क्रममा नयाँ बानेश्वरमा बायाँ पाखुरामा गोली लागेर घाइते भए। उनको अहिले महाङ्कालस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । मुलुकमा भइरहेको बेथिति अन्त्यगरी समृद्धिको सपना साकार पार्न कसै न कसैले पहल गरोस् भन्ने लागेका बेला युवापुस्ताको बलमा भएको आन्दोलनको विस्फोटमा सम्पूर्ण नेपालीको सहयोग र समर्थन मिलेको आन्दोलनका घाइते कार्कीको बुझाइ छ ।
आन्दोलनमा सहभागिता, बानेश्वर घटना र आगामी सोचबारे ट्रमा सेन्टरमा उपचारमा रहेका आन्दोलनका घाइते कार्कीसँगको कुराकानीको सम्पादित अशं :
भदौ २३ गते जेनजी समूहको आह्वानमा भएको आन्दोलनमा सहभागी हुन बानेश्वरको एभरेष्ट होटलअघि बिहान ११ बजे पुग्दा सो ठाउँलाई निषेधित क्षेत्र घोषणा गरिएको रहेछ । पहिले त्यहाँ शान्तिपूर्ण आन्दोलन भइरहेको थियो । तीनकुने र माइतीघरबाट आउने आन्दोलनकारीको भीड दुवैतर्फ ठूलो थियो ।
ठूलो जुलुसले निषेधाज्ञा तोड्दै संसद् भवन अगाडि पुग्यो । ‘संसद् भवन खाली गर’ भनी दबाब सिर्जना गर्ने भन्ने थियो । त्यस क्रममा प्रहरीले अश्रुग्यास हान्न थाल्यो । सुरुमै अश्रु ग्यास प्रहार भएपछि भिड रन्थनिएर आक्रमक बन्यो । युवाले ढुङ्गामुढा गर्न थाले । सुरुमा त्यो गर्ने मनसाय थिएन । त्यहाँ घुसपैठ कहाँनेर भयो थाहा भएन । हामी शान्तिपूर्ण आन्दोलन गर्ने सोचका साथ नै अघि बढेका थियौँ ।
हामी वास्तविक जेनजी जो देशको सार्वजनिक सम्पत्ति र सम्पदा नष्ट गर्नु हुँदैन भन्ने कुरामा प्रष्ट थियौँ । स्वार्थी, उदण्ड स्वभावका केही व्यक्ति आन्दोलनको मर्म र भावना नबुझ्ने र रमाइलो हेर्न गएका मानिस भने त्यसमा संलग्न भएको पाइयो । सुरक्षा फौजले हानेको त्यसबखत अश्रुग्यास टिप्दै उतै फर्काउँदै भाग्दै गर्नेक्रम चलिरहेको थियो । बार भत्काउने र संसद् भवनभित्र छिर्ने भन्ने भयो ।
त्यो दिन संसद् चल्छ भन्ने पनि सुनियो ।
भीडलाई थेग्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो । अश्रुग्यास हान्ने, फर्काउने, ह्वार्रर अघि बढ्ने र आँखामा पनि छयाप्ने काम चलिनै रह्यो । एक्कासी ड्याङ–ड्याङ र भटटटट गोली चल्यो । कहाँबाट हानियो भन्ने थाहै भएन । मसँगै छेउमा रहेका साथीहरु चार÷पाँच जना गोली लागेर ढले ।
हामी संसद् भवनको दक्षिण मुल ढोकाको अगाडि थियौँ । मलाई पनि एक्कासी गोली लाग्यो, रन्थनिएँ, अनि मुटु गाँठो पर्यो । त्यति हुँदा पनि दौडिएँ । मलाई गोली लाग्यो भनेर साथीहरुलाई भने । त्यति खेरै रगत पनि ह्वार्र ओइरियो । त्यो देखेर साथीहरुले उचालेर एम्बुलेन्समा हाले अनि एभरेष्ट अस्पताल पुर्याए । त्यहाँ बिरामी राख्ने ठाउँ थिएन । भूइँमै सुताएर सोधपुछ गरे । वरपर रगतको आहाल थियो ।
साथीहरु मलाई नआत्तिनु भनेर सान्त्वना दिइराखेका थिए । संसार घुमाए जस्तो लाग्यो, बेहोस हुँला जस्तो भयो । अक्सिजन कम जस्तो भए पनि त्यो लगाइदिनु भने । अनि साथीले ट्रमा सेन्टर पठाइदिनु भयो । त्यसपछि देशका लागि यतिसम्म गर्न सकें भन्ने गर्व लाग्यो । भोलि आउने पीडिलाई राम्रो हुन्छ भने मेरो ज्यान गएर केही फरक पर्दैन भन्ने महसुस गरेँ ।
ट्रमा आएपछि साथीलाई मलाई गोली लाग्यो भनेर फोन गरे । हातै नचल्ने भयो भनी सुनाएँ । त्यसपछि दाईले मलाई फोन गर्नुभयो । त्यसपछि घरपरिवारका सबैसँग कुराकानी भयो । राति नै शल्यक्रिया भयो । होसमा आइपुग्दा सरकार परिवर्तन, राष्ट्रिय सम्पत्तिमा आगजनीसहित देशमा उथलपुथल भइसकेको रहेछ । सार्वजनिक सम्पत्ति जल्न हुन्थेन । कहाँबाट घुसपैठ भयो थाहा भएन । नेताहरुलाई एक हिसाबले सुकुम्बासी भए, घर न घाट भने बनाइ दियो । कतिले के–कति बदमासी गरेर सम्पत्ति जोडेका रहेछन् भन्ने छर्लङ्ग बनाइदियो ।
नेपालमा कतैबाट भगवान् आएर व्याप्त भ्रष्टाचार, अन्याय र अत्यचार अन्त्य गरिदेओस् भन्ने लागेका बेला यो विस्फोटन भएको छ । यसमा सम्पूर्ण नेपालीको सहयोग र समर्थन मिलेको छ । आन्दोलन सफल भएको छ । हामीले आन्दोलनमा खासगरी सुशासन, भ्रष्टाचार नियन्त्रण, युवापुस्ताको नेतृत्व र सामाजिक सञ्जाललाई निस्क्रिय बनाइएकामा त्यो हटाइनुपर्छ भन्ने मुख्य मुद्दा थिए ।
अर्कातर्फ आन्दोलनमा ठूलो जनधनको क्षति दुर्भाग्यपूर्ण स्थिति भयो । युवाको शान्तिपूर्ण प्रदर्शनीमा ताकिताकि गोली हान्नेलाई पक्राउ गरी कानुनी दायरामा ल्याउनुपर्छ । कारबाही गरिनुपर्छ । घाइते र सहिद परिवारलाई शिक्षा, स्वास्थ्य निःशुल्कसहित उचित राहत प्रदान गरिनुपर्छ । घाइतेलाई रोजगारी दिलाउनुपर्छ । युवापुस्ताको माग र मुद्दाअनुरुप शासकीयस्वरुपको परिवर्तनसम्मका विषयलाई सम्बोधन हुनुपर्छ ।
अनावश्यक संरचनाको खारेजी हुनुपर्छ । जनताले नै आफ्नो कार्यकारी छनोट गर्न पाउने व्यवस्था हुनुपर्छ । विसं २०४६ पछि माथिल्लो तहमा रहेका राजनीतिक र प्रशासनिक व्यक्तिको सम्पत्ति छानबिन गरी अकूत सम्पत्ति आर्जन गर्नेको राष्ट्रीयकरण गरिनुपर्छ । त्यसका लागि वर्तमान संविधानलाई पनि समयसापेक्ष संशोधन गरिनुपर्छ । युवाको बलिदानबाट बनेको सरकार भएकाले युवापुस्ताले उठाएका माग सम्बोधन हुनुपर्छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट