`

बाटोमा अलपत्र यात्रुलाई खाना र आवास व्यवस्था मिलाउन आग्रह

Nepal One HD १८ असोज २०८२ १७:५६
समाचार

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाटोमा अलपत्र यात्रुलाई खाना र आवासको व्यवस्था मिलाउन सबै जिल्ला प्रशासन कार्यालयहरुलाई आग्रह गरेको छ ।

देशभरको अविरल भारी बर्षाका कारण लामो दूरीका सवारी साधन आवागमन रोकिएको अवस्थामा बाटोमै रोकिएका यात्रुको व्यवस्थापन र भोजनको व्यवस्था मिलाउन आग्रह गरिएको हो ।

अत्यधिक वर्षाका कारण उत्पन्न हुनसक्ने बाढी, पहिरो र डुबानजन्य जोखिमलाई मध्यनजर गर्दै असोज २० गते सोमबारसम्म सवारी सञ्चालनमा रोक लगाइएपछि गन्तव्यतर्फ प्रस्थान गरिसकेका केही सवारी साधन बाटोमै रोकिएका छन् । त्यसै सम्बन्धमा यात्रुको सुरक्षित व्यवस्थापन गर्न प्राधिकरणले आदेश जारी गरेको हो । प्राधिकरणले काठमाडौँ उपत्यकाका नदी खोला किनारका सडक (कोरिडर सडक) मा साँझ ६ः०० देखि बिहान ६ः०० बजेसम्म सवारी आवागमनमा रोक लगाउन आग्रह गरेको छ ।

प्राधिकरणका उपसचिव रामबहादुर केसीका रोकिएका यात्रुलाई सुरक्षित स्थानमा राख्दै खानपान, स्वास्थ्योपचार लगायतका आवश्यक बन्दोबस्त गर्न सम्बन्धित स्थानीय तह, यातायात व्यवसायी, सरकारी तथा गैरसरकारी संस्था, निजी क्षेत्रसँग समन्वय गरेर तत्काल प्रबन्ध मिलाउन भनिएको छ ।

यसअघि नै प्राधिकरणले असोज १८ देखि २० गतेसम्म उपत्यका भित्रिने सबै लामो दूरीका सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो । तर सूचना जारी हुनुअघि नै प्रस्थान गरेका सवारी रोकिएको उजुरी आएपछि आपत्कालीन व्यवस्थापनका लागि स्थानीय प्रशासनलाई सक्रिय हुन भनिएको हो ।

प्राधिकरणले यस कार्यमा गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघलाई पनि आवश्यक समन्वय र सहजीकरणका लागि जानकारी गराएको छ ।

हेर्नुस् सूचना


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *