फागुन २१ को निर्वाचन कार्यतालिका स्वीकृत


काठमाडौं । निर्वाचन आयोगले आउँदो २१ फागुनमा हुने निर्वाचन कार्यक्रम तालिका सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगले नयाँ दल दर्ताका लागि कार्तिक मसान्तसम्म समय सीमा तोक्ने र त्यसपछि दर्ता हुने दललाई निर्वाचनमा भाग लिन नदिने तयारी गरेको छ ।
उम्मेद्वारहरुले भौतिक रुपमा करिब १५ दिन मात्रै प्रचारप्रसार गर्न पाउने गरी निर्वाचन आयोगले कार्यक्रम तालिका तय गरेको छ । निर्वाचन आयोगमा तयार भएको कार्यक्रमको खाकामाथि पदाधिकारीहरुले छलफल गरिरहेका छन् । आयोग स्रोत भन्छ, ‘पदाधिकारीहरुको बैठक टुंगिनासाथ कार्यक्रम तालिका सार्वजनिक हुनसक्छ ।’
आयोगसम्वद्ध स्रोतका अनुसार, नयाँ दल दर्ताका लागि कार्तिक मसान्तसम्मको समय सीमा तोक्ने तयारी छ । त्यसपछि दर्ता हुने दलले आगामी २१ फागुनमा हुने निर्वाचनमा भाग लिन पाउने छैनन् । आयोगले त्यसपछि निर्वाचन प्रयोजनका लागि फेरि दल दर्ताको आह्वान गर्नेछ । त्यसका लागि १० मंसिर हाराहारीको समय तोक्ने तयारी छ । नयाँ दर्ता हुने दलहरुले पनि त्यही समयभित्र फेरि निर्वाचनका लागि दर्ता गर्नुपर्नेछ ।
आयोगले करिब डेढ महिनाको समय राखेर उम्मेद्वारहरुको मनोनयन मिति तोक्नेगरी छलफल अघि बढाएको छ । माघको पहिलो साताभित्र उम्मेद्वारहरुले मनोनयन दर्ता गर्नुपर्नेछ । विगतका निर्वाचनमा मनोनयन दर्ता गर्नासाथ उम्मेद्वारहरु प्रचारप्रसारमा जान पाउँथे । यसपटक निर्वाचन आयोगलाई त्यसलाई साँघुरो बनाउने तयारी गरेको छ ।
त्यसो हुँदा ६ फागुनभन्दा अघि उम्मेद्वारहरुले भौतिक रुपमा सभा सम्मेलन, प्रचारप्रसार र कोणसभा गर्न पाउने छैनन् । ‘खर्चिलो प्रचारप्रसारका कारण बेथिती बढ्यो भनेर विगतमा व्यापक गुनासो आएको थियो’ आयोगसम्वद्ध स्रोतले भन्यो, ‘त्यसैले निर्वाचन प्रचारप्रसारका लागि दुई साताभन्दा बढी समय राख्नु हुँदैन भन्ने कुरा आएको छ । त्यसै अनुसार नै कार्यक्रम तालिकाको खाका बनेको हो ।’
आयोगको बैठकले निर्वाचन कार्यक्रम तालिका तयार गरेपछि मंगलबार बृहत छलफल गर्ने तयारी छ । प्रधानमन्त्रीको उपस्थितिमा आयोगका पदाधिकारीहरुसहित सबै मन्त्रीहरु, सुरक्षा निकायका प्रमुखहरु, मुख्यसचिवसहित सबै सचिवहरुको बैठकमा निर्वाचन तयारीबारे छलफल गर्ने योजना बनेको हो ।