फागुन २१ को निर्वाचनबारे दलहरुसँग आयोगको छलफल कहिले ?


काठमाडौं । आउँदो फागुन २१ गतेका लागि तय प्रतिनिधिसभा चुनावको विषयमा निर्वाचन आयोगले राजनीतिक दलसँग छलफलको तयारी थालेको छ । राजनीतिक दलहरूसँग संवाद बिनै चुनावी तालिका सार्वजनिक गरिएको भन्दै आलोचना भइरहेका बेला आयोग छलफलको तयारीमा जुटेको हो ।
यसअघि गत भदौ २३ गते दलसँग आयोगले छलफल गर्ने तयारी गरेकोमा जेन–जीको आन्दोलनले प्रभावित भएपछि केही ढिला भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् । उनले आयोगले अब जतिसक्दो चाँडै राजनीतिक दलसँग छलफल गर्ने तयारी गरिएको बताए ।
आयोग उच्च स्रोतका अनुसार भने आयोगले यही असोज ३० गते दिउँसो साढे ११ बजे राजनीतिक दलसँग छलफल गर्न लागेको हो । गत निर्वाचनमा प्रतिनिधि सभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा कम्तीमा एक सीट ल्याएका सबै दलसँग छलफल गर्न लागिएको एक पदाधिकारीले जानकारी दिए । त्यस्ता दलको संख्या २८ वटा रहेको छ ।
ती दलका प्रमुख तथा प्रतिनिधिलाई छलफलमा बोलाउनका लागि पत्राचार गर्ने तयारी भइरहेको आयोगले जनाएको छ । तालिकामा मनोनयन दर्ता मिति उल्लेख नगरेकोमा पनि दलहरूले आलोचना गरिरहेका छन् । प्रवक्ता भट्टराईले अहिले निर्वाचन कार्यतालिका मात्रै सार्वजनिक भएको भन्दै निर्वाचन कार्यक्रममा मनोनयन दर्ताको समय तोकिने बताए ।