दुर्गा प्रसाईको दाबी : यो सरकार पनि धेरै टिक्दैन, चुनाव गराउन सक्दैन


काठमाडौं । गत भदौ २३–२४ गतेको आन्दोलनको ‘स्टेक होल्डर’ को रूपमा सेनासँग वार्ता गरेका दुर्गा प्रसाईंले वर्तमान सरकार धेरै नटिक्ने दाबी गरेका छन् । यो सरकारले चुनाव गराउन नसक्ने उनले बताएका छन् । आज (सोमबार) त्रिभुवन विमानस्थल बाहिर पत्रकारहरूसँग कुरा गर्दै प्रसाईंले आगामी फागुन २१ गते कुनै हालतमा चुनाव हुन नसक्ने दाबी गरे । पश्चिमा शक्तिको डिजाइनमा बनेको सरकारले चुनाव गराउन नसक्ने उनको आरोप थियो ।
‘त्यो बेला जेनजीको हालिमुहाली थियो, सबै थाहा पाएको थिइनँ । अरु रक्तपात हुन्छ भनेपछि सेनासँग वार्ता गरेको हुँ’, प्रसाईंले भने, ‘तर, यो सरकार टिक्दै टिक्दैन, सरकारमा सत्यता छैन ।’ प्रसाईंले अब नयाँ चरणको आन्दोलन घोषणा गर्ने पनि बताएका छन् । ‘अबको लडाइँ पश्चिमा शक्ति र मेरो शक्तिबीच हुनेछ । गर्धन जाओस्, हिन्दु राष्ट्र कायम गराएर छाड्छु । आजै पशुपतिमा पूजा गरेर केही नयाँ घोषणा गर्दैछु’, उनले भने ।
पत्रकारको प्रश्नमा उनले पशुपतिनाथबाट एउटा महत्त्वपूर्ण घोषणा गर्न लागेको जानकारी दिए । ‘आज एउटा घोषणा गर्दैछौं,’ उनले भने, ‘सडकको सरकार घोषणा हुँदैछ । विस्तृत जानकारीका लागि पशुपतिमा आउनुहोस् ।’ यति भन्दै उनी पशुपतिनाथ मन्दिरतर्फ लागेका थिए।
उनले हिन्दु राष्ट्र स्थापनाका लागि जस्तोसुकै मूल्य चुकाउन तयार रहेको र सडकको सरकार घोषणा गर्ने बताए । प्रसाईंले वर्तमान संविधानप्रति असन्तुष्टि जनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाह निवास पुग्ने दिन आउने दाबी गरेका छन् । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईले वर्तमान सरकार कुनै पनि हालतमा नटिक्ने दाबी गरे ।
‘यो देशमा हिन्दु राष्ट्र, गर्दन जाओस्, कायम गराएर छाड्छु,’ प्रसाईले भने । उनले आफू प्रधानमन्त्री भएको भए २४ घण्टाभित्र ४०० जना भ्रष्टाचारीलाई कारबाही गरिसक्ने भन्दै कडा अभिव्यक्ति दिए । ‘राजा भनेको सबैलाई जोडेर राख्ने हो,’ उनले भने, ‘धर्म भनेको देशको संविधान जस्तै हो । हामीलाई यस्तो संविधान चाहिँदैन ।’ उनले वर्तमान संविधानले देशलाई केही नदिएको आरोप लगाउँदै अब नागरिकहरू पूर्वराजा ज्ञानेन्द्र शाह निवास निर्मल निवास पुग्ने दिन आउँदै गरेको दाबी गरे ।