`

गभर्नर पौडेलले किन पाएनन् भाडाको घर ?

Nepal One HD २८ असोज २०८२ १७:१४
प्रमुख खबर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्ना गभर्नर विश्वनाथ पौडेलको आवासका लागि ललितपुर क्षेत्रमा भाडामा लिन चाहेको घर अहिलेसम्म पाउन सकेको छैन । तोकिएको मापदण्डअनुसारको घर नपाएपछि राष्ट्र बैंकले आवेदन दिने म्याद कात्तिक १६ गतेसम्मका लागि थपेको छ। यसअघि राष्ट्र बैंकले असोज २७ गतेसम्म इच्छुक घरधनीहरूलाई प्रस्ताव पेश गर्न सूचना जारी गरेको थियो । तर निर्धारित मापदण्डमा उपयुक्त कुनै पनि घर नपरेपछि म्याद थप गरिएको हो ।

राष्ट्र बैंकको सम्पत्ति व्यवस्थापन विभागका अनुसार, केही घरधनीहरूले जिज्ञासा राखे पनि औपचारिक रूपमा मापदण्ड अनुसारको प्रस्ताव प्राप्त भएको छैन । एक कर्मचारीका अनुसार, ‘केही सोधपुछ भएको थियो, तर तोकिएको मापदण्ड पूरा गर्ने कुनै आवेदन प्राप्त भएन, जोखिम महसुस गरेको हुन पनि सक्छ ।’

यस्तो छ घरका लागि राष्ट्र बैंकको मापदण्ड
राष्ट्र बैंकले गभर्नरका लागि ललितपुरको बखुण्डोलदेखि भैंसेपाटीसम्मको क्षेत्रमा पर्ने घर माग गरेको छ । माग गरिएको घर कम्तीमा १६ आनादेखि २४ आनासम्मको क्षेत्रमा हुनु पर्नेछ, जहाँ कम्तीमा ५ वटा सवारीसाधन पार्किङ गर्न सकिने सुविधा भएको, आरसीसी स्ट्रक्चरमा बनेको, १००० वर्गफिटभन्दा बढी प्लिन्थ क्षेत्रफल भएको हुनुपर्नेछ ।

त्यस्तै, घर २.५ देखि ३ तले हुनु पर्ने, कालोपत्रे सडकसँग सिधा पहुँच भएको र सुरक्षित कम्पाउन्डवालले घेरिएको हुनुपर्ने उल्लेख छ । साथै, घरमा खानेपानी, ढल निकास, र बिजुलीको भरपर्दो सुविधा हुनु आवश्यक छ । भित्रतर्फ, घरमा कम्तीमा एउटा मास्टर बेडरूमसहित ४ वटा बेडरूम, एउटा लिभिङ हल, किचेन, डाइनिङ हल, स्टोररूम, र सुरक्षाकर्मीका लागि छुट्टै भवन हुनुपर्ने शर्त राखिएको छ ।

घरबेटीहरू अनिच्छुक
राष्ट्र बैंकले माग गरेअनुसारको सुविधासम्पन्न घर काठमाडौं उपत्यकामा केही पाइए पनि, घरधनीहरूले राज्यका उच्च पदस्थ अधिकारीलाई घर भाडामा दिन झिनो झिनो कारणले जिज्ञासा र झमेला पर्ने डरले प्रस्ताव नपेस गरेको देखिएको छ । एक कर्मचारीका भनाइ अनुसार, ‘जोखिम महसुस भएको हुन सक्छ’, भन्ने संकेतले देखाउँछ कि सुरक्षालगायत अन्य कारणले पनि घरबेटीहरू पछि हटिरहेका छन् । राष्ट्र बैंकले अब कात्तिक १६ गतेसम्म नयाँ प्रस्ताव आह्वान गरेको छ । यो म्यादभित्र पनि उपयुक्त घर नभेटिए गभर्नरको आवास व्यवस्थापनमा थप जटिलता आउन सक्ने देखिएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *