सर्वाेच्च बारद्वारा निष्पक्ष चुनावका लागि सघाउने प्रतिबद्धता
काठमाडौँ। सर्वोच्च अदालत बार एसोसिएसनले आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउन सरकारको अभियानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालसँग आज कार्यवाहक अध्यक्ष अम्बर राउत सहितका बार पदाधिकारीहरूले भेट गर्दै मुलुकमा शान्ति, सुव्यवस्था र सुशासनको प्रत्याभूति दिलाउन सरकारलाई सहयोग गर्न तयार रहेको बताए ।
भेटका क्रममा बार पदाधिकारीहरूले गृहमन्त्रीलाई भ्रष्टाचार नियन्त्रण, कानुनी शासनको सुदृढीकरण र जेनजी पुस्ताले उठाएका जायज मागहरू सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
गृहमन्त्रीको सचिवालयका अनुसार, बार एसोसिएसनले निर्वाचनमा कानुनी सहयोग र जनचेतना अभिवृद्धिमा योगदान पुर्याउने प्रतिवद्धता जनाउँदै निष्पक्ष र पारदर्शी निर्वाचनको वातावरण निर्माणमा साझा जिम्मेवारी वहन गर्ने तयारी व्यक्त गरेको छ ।
