सुशीलाको सिफारिसबारे प्रमाण सार्वजनिक गर्न प्रचण्डलाई ओलीको चुनौती


काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सुशीला कार्कीलाई प्रधानमन्त्रीको रूपमा सिफारिस गरेको भन्ने दाबीमा कुनै सत्यता नरहेको बताएका छन्।
उनले त्यो प्रसङ्गमा आफ्नो सिफारिस पत्रको भाषा स्पष्ट रहेको बताउँदै भ्रम फैलाउनेलाई प्रमाण सार्वजनिक गर्न चुनौती दिएका छन्।
ओलीका अनुसार, उक्त सिफारिसपत्रमा कुनै व्यक्तिको नाम उल्लेख गरिएको थिएन। उनले भने, ’मेरो सिफारिसको भाषा के छ भने – वर्तमान असहज र असाधारण अवस्थामा संविधान र लोकतान्त्रिक परिपाटीलाई पुनः शान्तिपूर्ण स्थितिमा फर्काउन आवश्यक कदम चाल्नका लागि सम्माननीय राष्ट्रपति संविधानको रक्षक र पालक भएकाले संविधानभित्रैबाट आवश्यक निर्णय लिन सिफारिस गर्दछु।’
उनले अगाडी थप्दै भने, ’त्यसमा सुशीला कार्की भन्ने वा अरू कोही भन्ने कुरा छैन। संविधान र संसद् नचलाउनुपर्ने भन्ने कुरा राष्ट्रपतिको उपस्थितिमा, म कार्यवाहक प्रधानमन्त्री र प्रधानसेनापति भएको बैठकमै मैले सिफारिस गरेको थिएँ।’
ओलीले आफ्नो सिफारिसको प्रतिलिपि अहिले आफूसँग नभए पनि आधिकारिक अभिलेखमा त्यसको प्रमाण रहेको दाबी गरे।
जुन परेको बेला प्रति निकाल्न सकिने पनि उनले दाबी गरे । साथै उनले चुनौती दिँदै प्रचण्डसँग प्रमाण छ भने निकाले हुन्छ,’ भने।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ओलीकै सिफारिसमा कार्की प्रधानमन्त्री भएको दाबी गर्दै आएका बेला ओलीले प्रमाण सार्वजनिक गर्न चुनौती दिँदै यस्तो बताएका हुन् ।