राज्यको उपेक्षाकाबीच विश्व कराँते च्याम्पियनसिपको तयारीमा सानुमाया
काठमाडौं । गत महिना नेपाल तेस्रोपल्ट आइसिसी टी ट्वान्टी विश्वकपमा छनौट हुँदा सम्पूर्ण देशवासीले ठूलो उत्सव मनायो । नेपाली क्रिकेट टोलीले दिलाएको यो सफतामा राज्यले पनि खेलाडीलाई पुरस्कृत गर्ने घोषणा गर्दै अर्को उत्साह थपिदियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) नेपाली खेलकुदको कार्यकारी निकाय हो । यही राखेपले नै विश्वकपमा पुर्याउन सफल हरेक खेलाडीलाई १९ लाख ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा नै गर्यो । खेलाडीको सफलतामा राज्यले प्रोत्साहन गर्नु सुखद् पक्ष हो । राज्यको यस किसिमका प्रोत्साहनले खेल विकासमा महत्वपूर्ण भुमिका खेल्छ ।
खेलाडीको मनोबल बढ्नुले उनीहरूको प्रदर्शन पनि स्तरोन्नति हुन्छ । तर खेल र खेलाडीप्रति हेर्ने राज्यको नजर फरक छ । जुन खेल र नतिजामा आम मानिसको चासो हुन्छ । त्यसमा मात्र राज्यले लगानी गर्छ । हरेक जसो राजनीति दल, व्यावसायिक घरना र राज्यले नै चासो दिएको पाइन्छ । खेलाडीलाई पनि प्रोत्साहन गर्नु राम्रै हो । यद्यपि चर्चा मात्र हैन उनीहरूको सफलताका लागि आधार बन्नु पनि उतिकै महत्वपूर्ण हुन्छ । तर आम मानिसमा लोकप्रियता नभएको खेलमा भने राज्यले खासै चासो राख्दैन । किनकी ती खेलाडीलाई खेलप्रेमीले पछ्याएका हुँदैन । नेपाली खेलकुदमा मार्सल आटर््स खेल ऐतिहासिक सफलता दिलाउनेमा अग्रभागमा पर्छ ।
त्यसमाथि पछिल्ला समय सबैभन्दा सफल खेलको रूपमा कराँते उभिएको छ । त्यसमा पनि करातेकी एरिका गुरुङले एकपछि अर्को सफलता दिलाउँदै छिन् । उनी जस्तै कराँतेकै खेलाडी सानुमाया थिङको पनि देशका लागि ठूलो सफलताका दिलाउने लक्ष्य छ । आगामी नोभेम्बर २७ देखि इजिप्टको काइरोमा तय कराते विश्व च्याम्पियनसिप हुँदैछ, जहाँ सानुमायाले खेल्ने छिन् ।
विश्व वरीयताको आधारमा उनी छनोट भएकी हुन् । छनोट चरण पार गरेर नेपाली कराँतेले पहिलोपल्ट विश्व च्याम्पियनसिप खेल्दैछ । केही वर्ष अगाडि सिधै विश्व च्याम्पियनसिप खेल्न पाउँथ्यो । त्यतिबेला नेपालका कुनै पनि खेलाडीले विश्व च्याम्पियनसिप खेलेनन् । अहिले विश्व वरियता र छनोट भएर मात्र विश्व च्याम्पियनसिप खेल्न पाउने प्रावधान छ । जहाँ सानुमाया केही महिना अगाडि विश्वको उत्कृष्ट २४ खेलाडीका रूपमा सिधै छनोट भइन् । उनको विधामा कुल ३२ खेलाडी खेल्ने छन् । पेरिसमा भएको छनोटबाट बाँकी खेलाडीले स्थान बनाउने प्रावधान थियो । एरिकासहित नेपाली खेलाडीले पेरिसमा छनोट खेले । तर कुनै खेलाडी पनि सफल भएनन् ।
अब आगामी विश्व च्याम्पियनसिपमा नेपालको एक मात्र प्रतिष्पर्धी हुनेछ । क्रिकेटको जस्तै उनले पनि विश्व च्याम्पियनसिप खेल्दैछिन् । तर राज्य र खेल निकाय बेखबर जस्तै छ । विश्व च्याम्पियनसिपको तयारी गर्न उनीमाथि गर्ने लगानी शुन्य छ । क्रिकेटका खेलाडीले उस्तै सफलतामा ठूलो रकम पाए । तर सानुमायाले पुरस्कार त परकै कुरा म्याच एक्सपोजरका लागि सहयोग पनि पाएकी छैनन् । उनीमा म्याच एक्सपोजरको कमी छ । त्यसैले प्रशिक्षक मण्डेकाजी श्रेष्ठले उनलाई अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाउने प्रयास गरेका थिए । तर उनको योजना सफल भएको छैन । पहिलो अफिसियल प्रतियोगिताबाट नै प्रमाणित गर्दै सानुमायाले विश्व च्याम्पियनसिप खेल्दै छिन् । तर सम्बन्धित निकायले चासो दिएन ।
देशमै गरेको प्रशिक्षणका भरमा ऐतिहासिक पदक जित्ने उनको अठोट छ । लोकप्रियताकै आधारमा राज्यको खेलाडीप्रति हेर्ने दृष्टिकोण फरक हुनुले उनीहरूमा निरुत्साहित बनाएको छ । तर सानुमाया भने छुट्टै जोश र जाँगर छ । अनि राज्यको शुन्य लगानीमै पदक जित्ने आत्मविश्वास उनीमा स्पष्ट देखिन्छ । त्यसैले त उनी अहिले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा कडा प्रशिक्षणमा छिन् । प्रतियोगिता आउन धेरै समय बाँकी छैन । त्यहीअनुरूप आफ्नो कमजोर पक्ष सुधार गर्न प्रशिक्षकले प्रेरित गरेको उनले उल्लेख गरेकी छन् । विश्व च्याम्पियनसिपका लागि उनी धेरै उत्साहित पनि छिन् । एशियन कराँते फेडेरेसनद्वारा हुने पहिलो खेलमा राम्रो प्रदर्शन गरेपछि उनले वरियतामा धेरै सुधार गरिन् । त्यसैको आधारमा छनोट हुँदा उनी उत्साहित छन् ।
एशियन गेम्स खेल्ने लक्ष्य राखे पनि विश्व च्याम्पियनसिपमा छनोट हुँदा आत्मविश्वास बढेको उनले महशुस गरेकी छन् । त्यहाँ पदक जित्ने लक्ष्यसहित तयारी पनि गरिरहेकी उनी बताउँछन् । अब विदेशी भूमिमा तयारी गर्ने आफू सोचमा नरहेको र यही प्रशिक्षण गर्दै पदक जित्ने उनको लक्ष्य छ । यसका लागि प्रशिक्षक मण्डेकाजीले आफूलाई धेरै उत्प्रेरणा दिएको सानुमाया बताउँछिन् । वर्षभर गरेको मिहनेत दुई मिनेटमा देखाउने भएकाले त्यसका लागि तयार हुन आफ्ना गुरु मण्डेकाजीले भन्ने गरेको उनी सुनाउँछिन् । विश्वका एकसे एक खेलाडी आउनेमा उनी तयार छिन् । आफू पनि त्यसका लागि तयार रहेको उनको भनाइ छ ।
विश्वका चर्चित खेलाडीसँग खेल्न गुरुले नै प्रोत्साहन गरिरहेको र आफूमा डर हराएको सानुमायाको विश्वास छ । आफ्ना गुरुले ३२ वर्षमा दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेको र आफू अहिले युवास्थामा रहेकाले सफलता दिलाउने आशामा सानुमाया छिन् । मिसन–२६ का लागि छनोट हुनु र विश्व च्याम्पियनसिपमा पदक जित्नु नै जीवनमा उनको लक्ष्य बनेको छ । हप्ताको एक दिन फिटनेस ट्रेनिङ गरिरहेको उनले उल्लेख गरिन् । चाडपर्व पनि नभनी प्रशिक्षण गरिरहेकाले सफलता मिल्ने आशामा उनी छिन् ।
१३ औं दक्षिण एशियाली खेलकुद (साग) मा कातातर्फ दोहोरो स्वर्ण विजेता मण्डेकाजी केही वर्षयता राष्ट्रिय टोलीको जिम्मेवारीमा छन् । उनको प्रशिक्षणमा नेपाली कराते र सानुमायाले ऐतिहासिक सफलता प्राप्त गरेको छ । त्यसमा अर्को इट्टा थप्न प्रशिक्षक र खेलाडी दुवै मिहिनत गरिरहेका छन् । विश्व च्याम्पियनसिपमा जित निकाल्दै पदक जितोस् र वरियतामा पनि सुधार गर्ने हिसावले तयारी गरिरहेको मण्डेकाजीले बताए । हरेक दिन उनले धेरै पक्षमा सुधार गरेको र अहिले फिटनेसमा ध्यान दिइएको प्रशिक्षक मन्डेकाजी बताउँछन् । कातामा इन्डुरेन्स, ब्यालेन्स, समय, स्ट्यान्ड र फिटनेस सबै पक्षमा राम्रो हुनु पर्ने उनको भनाइ छ ।
पछिल्लो एक वर्षमा सानुमायाले धेरै सुधार गरेको उनको विश्वास छ । पहिलोपल्ट छनोट भएको क्षणलाई ऐतिहासिक पदकसम्म पुर्याउने प्रशिक्षक मण्डेकाजी लक्ष्य छ । त्यसका लागि सहज नरहेको उनी बताउँछन् । एशियन च्याम्पियनसिपमा तीन बाउट जित्दै सानुमायाले आफ्नो क्षमता देखाएको प्रशिक्षक मण्डेकाजीले उल्लेख गरे । तर, मेडल बाउटमा उनी चुके पनि विश्व च्याम्पियनविरुद्ध सानुमायाको प्रदर्शनले उनमा धेरै आशा पलाएको प्रशिक्षक मण्डेकाजीको बुझाइ छ । उनले उब्जेकिस्तानमा भएको एसियन च्याम्पियनसिपपछि सानुमायामा धेरै सम्भावना देखेका छन् । तर उनमा अन्तर्राष्ट्रिय एक्सपोजरको कमी रहेको उनी पनि स्विकार गर्छन् ।
प्रशिक्षक मण्डेकाजी र खेलाडी सानुमाया दुवै पदक जित्ने आशासहित पछिल्लो एक महिनादेखि प्रशिक्षणमा छन् । सफल खेलाडी भएर पदक जितेका मण्डेकाजीमा अब प्रशिक्षकको भुमिका पनि ऐतिहासिक पदक जित्ने महत्वाकांक्षा छ । विश्व च्याम्पियनसिपसँगै सन् २०२६ को एशियन गेम्सका लागि पनि पदक जित्ने खेलाडी तयार पार्ने योजनामा नेपाली टोलीका काता प्रशिक्षक मन्डेकाजी छन् । —न्युज एजेन्सी नेपाल
