बालेनको ‘लबिङ’ मा ईः ईः को टिप्पणी : गृहमन्त्री फेरिए, प्रधानमन्त्री पनि जान सक्छिन्
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउने तीव्र लबिङ थालेपछि राजनीति वृत्तमा तरङ्ग सिर्जना भएको छ । बालेनको यो कदमले सरकारभित्रको शक्ति सन्तुलन हल्लिएको छ भने सामाजिक अभियन्ता ईः ईः ले यसबाट प्रधानमन्त्री समेत फेरिने अवस्था आउन सक्ने चेतावनी दिएका छन् ।
‘सारथि फेरिए, प्रधानमन्त्री पनि फेरिन सक्छ’
बालेनले अर्याललाई हटाउन गरेको प्रयास केवल व्यक्ति परिवर्तन नभई राजनीतिक सन्तुलन भत्काउने खेल भएको सामाजिक अभियन्ता ईः ईः ले टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘गृहमन्त्री कमी कमजोरी रहित व्यक्ति होइनन्, तर सारथि फेरिए भने प्रधानमन्त्री पनि फेरिने परिस्थिति विकसित हुन सक्छ । यहाँ ठूलो भूराजनीतिक र स्थानीय शक्ति प्रतिष्पर्धा चल्दै छ । अधिकांश पक्षको आन्तरिक चाहना अस्पष्ट छ । के नवयुवाको रगत यसैको लागि बगेको हो ? कस्तो विडम्बना ! कस्तो निर्लज्जता !’ ईः ईः ले भनेका छन्, ‘सुशीला कार्की सर्वस्वीकार्य बन्नुमा ओमप्रकाश अर्यालको ठूलो भूमिका थियो । तर बालेनसँग राजनीतिक र सैद्धान्तिक अस्पष्टता हुँदा उनीहरूबीच दूरी बढ्दै गएको छ ।’
बालेनको लबिङ : गृहमन्त्री ‘रिङ आउट’ अभियान
अन्तरिम सरकार गठनपछि बालेनले हालसम्म दुई पटक प्रधानमन्त्री सुशीला कार्कीसँग एक्लै भेटिसकेका छन् । विश्वसनीय स्रोतका अनुसार, दोस्रो भेटमा उनले अर्यालको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै ‘गृहमन्त्रीलाई बिदाइ गरेर नयाँ अनुहार ल्याउनु पर्छ’ भन्ने आग्रह गरेका थिए । बालेनले राजु पाण्डेलाई पहिलो प्राथमिकतामा, नभए समावेशिताका लागि मीरा चौधरीलाई गृहमन्त्री बनाउने प्रयास गरिरहेको स्रोतको भनाइ छ । तर प्रधानमन्त्री कार्की नजिकका वृतले भने बालेनको यो प्रयासलाई ‘शक्ति सन्तुलन भत्काउने कदम’ का रूपमा हेरेका छन्।
अर्यालको भूमिका र बालेनको असन्तुष्टि
पूर्व मुख्य न्यायाधीश कार्कीलाई प्रधानमन्त्री बनाउन पर्दा कानुनी सल्लाहकारका रूपमा अर्यालको सक्रिय भूमिका थियो । तर बालेनको दाबी छ–आफ्नो ‘अदृश्य योगदान’ बेवास्ता गर्दै अर्याललाई मात्र श्रेय दिइएको छ । त्यसैले बालेन आफूलाई ‘उपेक्षित’ महसुस गरिरहेका छन्। अर्यालले भने आफू प्रधानमन्त्रीको सल्लाहकार मात्रै बन्न चाहेको तर परिस्थितिले मन्त्री बनाएको बताएका छन् ।
भदौ २३–२४ को घटनापछि सत्ता सन्तुलनको द्वन्द्व
जेन–जी आन्दोलनपछि देश राजनीतिक संक्रमणमा फसेको बेला बालेन, रवि र अन्य युवा नेतृत्वबीच अन्तरिम सत्ता व्यवस्थापनको ‘अदृश्य प्रतिस्पर्धा’ चलेको थियो । ईः ईः ले भनेका छन्, ‘भदौ २४ गते बालेनलाई प्रधानमन्त्री बनाएर गोलमेच बोलाउने तयारी थियो, तर परिस्थिति विकराल भएपछि योजना स्थगित भयो । त्यसपछि कल्याण श्रेष्ठ र अन्ततः सुशीला कार्कीलाई अघि सारियो ।’ उनका अनुसार, अहिलेको सरकार ‘कानुनी सन्तुलन र जनआन्दोलनको म्यान्डेटबीचको असहज सम्झौता’ हो ।
सत्ताभित्रको तातो प्रतिस्पर्धा
भित्रभित्रै विभिन्न शक्ति केन्द्रहरू सक्रिय छन्—निर्मल निवासदेखि दलका शीर्ष पदाधिकारीसम्म । बालेन–अर्यालबीचको खटपट सत्ता सन्तुलन, आन्दोलनको म्यान्डेट र भविष्यको राजनीतिक बाटोबारेको मतभेद हो । स्रोतहरूका अनुसार, प्रधानमन्त्री कार्की अहिले ‘विधिसम्मत तर सहकार्यात्मक’ बाटोमा हिँड्ने अडानमा छिन्, जबकि बालेन ‘जनआन्दोलनको म्यान्डेट’ कार्यान्वयन गर्नुपर्ने पक्षमा छन् । ईः ईः ले भनेका छन्, ‘सबै पक्षले बेलैमा आफ्नो भूमिका स्पष्ट नगरे थप दुर्घटना टार्न गाह्रो हुन्छ । विधिसम्मत ढङ्गले अपराधीले सजाय पाउनु पर्छ, चाहे ओहदा जोसुकैको होस् । चुनाव समयमा हुनुपर्छ । रगत बगाएर देश जलाउने राजनीतिले कसैलाई फाइदा दिँदैन ।’

