‘मोन्था चक्रवात’ त्रास : मेची राजमार्गमा रातको समयमा गाडी चलाउन रोक
इलाम । मेची राजमार्गमा रातको समयमा गाडी चलाउन रोक लगाइएको छ । एक महिनाअघिको बाढी पहिरोले सडकका विभिन्न खण्ड जोखिमयुक्त रहेकाले रातको समयमा गाडी सञ्चालनमा रोक लगाइएको हो ।
आजदेखि कार्यान्वयन हुने गरी बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म गाडी सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ । यस पटकको मनसुनी विपद्को ‘इपिसेन्टर’ बनेको इलाममा मोन्था चक्रवातले निम्त्याउन सक्ने सम्भावित क्षति रोक्न राजमार्ग बन्द गरिएको प्रशासनले जनाएको छ ।
बंगालको खाडीमा विकसित ‘मोन्था चक्रवात’ का प्रभावका कारण राजमार्ग बन्द गर्ने सूचना प्रशासनले जारी गरेको हो । जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको सूचना अनुसार बिहीबार दिउँसोदेखि शनिबार बिहानसम्म कोशी प्रदेशका अधिकांश क्षेत्रमा चक्रवातको प्रत्यक्ष प्रभाव पर्ने अनुमान छ ।
प्रशासनले असोज १८ गतेको भीषण वर्षाबाट पहिरो तथा सडक धस्सिएको मेची राजमार्गका धेरै खण्ड अझै जोखिमयुक्त रहेको उल्लेख गरेको छ । त्यसैले ‘अत्यधिक वर्षा र चक्रवातको प्रभावका कारण यात्रु तथा सवारी साधन दुर्घटनाको जोखिम उच्च रहेको’ भन्दै रातको समयमा सवारी सञ्चालनमा अस्थायी रोक लगाइएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंका अनुसार, राजमार्गका विभिन्न स्थानमा पहिरो खस्ने, सडक चिप्लिने र आवागमनमा समस्या देखिएको हुँदा जनसुरक्षाको प्राथमिकता दिँदै अस्थायी रूपमा रोक लगाइएको हो । उनका अनुसार रातको समयमा आवश्यक नभए सवारी साधन सञ्चालन नगर्न र यात्रुहरूलाई सुरक्षित स्थानमै बस्न अनुरोध गरिएको छ ।
प्रशासनले स्थानीय निकाय, सुरक्षाकर्मी र सडक विभागलाई सतर्क रहन निर्देशन दिएको छ । प्रशासनले उक्त रोक अर्को सूचना प्रकाशित नभएसम्म कायम रहने स्पष्ट पारेको छ । इलामसहित पूर्वी पहाडी क्षेत्रमा चक्रवातको प्रभावले हल्कादेखि भारी वर्षा हुनसक्ने र पहिरोको सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन् ।

