`

‘पार्टी सदस्यबाट निकाल्नेहरूलाई ल्याएर उपाध्यक्ष र सचिव बनाएँ, अहिले मेरै टाउकोमा कराँते सिक्दैछन्’

Nepal One HD २१ कार्तिक २०८२ १७:५९
राजनीति

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस अन्ततः विघटित प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षमा उभिने दाबी गरेका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । अध्यक्ष ओलीले कांग्रेससँग आफूहरुले संवाद गरिरहेको समेत बताए । उनले शेरबहादुर देउवा उपचारका लागि बाहिर गएपछि कांग्रेसमा नेतृत्वको अभाव देखिएको बताए । अध्यक्ष ओलीले देउवाकै अभावमा कांग्रेस केन्द्रिय कार्य समिति बैठक लम्बिएको जिकिर समेत गरे ।

उनले भने, ‘कांग्रेस एउटा पार्टी हो, हामी अर्को पार्टी हौं । कांग्रेससँग हाम्रो संवाद भईरहेको छ । कांग्रेस फाइनल्ली मेरो विश्वास छ–पुनर्स्थापनामा पुग्छ । कुराकानी भईराखेको छ । तर अब कांग्रेसभित्र जटिलता छ । शेरबहादुरजी उता जानुभयो । लिडरसिप क्राईसेस छ । अब लिडरसिप भनेको यस्तो चिज हुँदोरहेछ शेरबहादुरजी त्यो कुर्सीमा बसिदियो भने खुरुखुरु पास हुन्छ । बसिदिएन भने हुँदैन कति दिन भयो केन्द्रिय समिति बैठक बसेको, निर्णय छैन । हाम्रो पार्टीको महाधिवेशन ३ दिनमा सकिन्छ । केन्द्रिय कमिटी बैठक ३ दिनमा सकिन्छ । ३६० जना सबैलाई बोल्न पालो दिइएको हुन्छ । सबैले बोल्छन् । पहिला नै विषय फ्लोर गरिदिएको हुन्छ । सबैले दस्तावेजमा छलफल गर्दछन् । सबैले भाग लिन्छन् बोल्नका लागि ।’ अध्यक्ष ओलीले कांग्रेसभित्र नेतृत्वकै अभावमा जटिलता थपिन पुगेको पनि बताए ।

‘सञ्चारमाध्यममा गएर  र्‍याईर्‍याई गर्नुको औचित्य छैन’
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा पुनर्गठन चाहियो भन्दै माग गरेपछि आफूले एक वर्षपछि गरे हुने महाधिवेशन पनि अगाडि सारेको बताएका छन् । शुक्रवार काठमाडौंमा विद्वत वर्गसँगको संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले पुनर्गठन गर्न आफूलाई कुनै आपत्ति नरहेको र कसले पार्टीमा रहेर काम गरेको छ वा छैन भन्ने कुरा कार्यकर्ताहरुले स्पष्ट देखेको बताए । काम गर्नेहरु पार्टीमा रहने र काम नगर्ने अब विदा हुने पनि स्पष्ट पारे । सञ्चारमाध्यममा गएर  र्‍याईंर्‍याईं गर्नुको औचित्य नरहेको उनको स्पष्टोक्ति छ । संसद पुनस्र्थापना, प्रतिक्रियावादका विरुद्ध लड्नुपर्ने बेलामा अध्यक्ष र पार्टीका विरुद्धमा काम हुनु राम्रो नभएको बताए ।

उनले भने, ‘पार्टीमा पुनर्गठन चाहियो, चाहियो भनेर एकथरी साथीहरु धेरै कराएका हुनाले अनुशासनहिन ढंगले उपद्रव मचाएको हुनाले एक वर्षपछि गरे हुने महाधिवेशनलाई मैले एक वर्षअघि सारेको छु । ठिक छ । पुनर्गठन गरौँ न त । काम नगर्नेहरु गए हुन्छ, काम गर्ने बसे हुन्छ । को काम गरेको छ, छैन, कार्यकर्ताले देखेको छ । को लड्या छ छैन, को काम गरेको छ की छैन, कार्यकर्ताले देखेको छ । कार्यकर्ताले फैसला गर्दछ । यो  र्‍याईं र्‍याईं मिडियामा गएर क्याईंक्याईं गरेको छ । उता युट्युबमा गयो त्यस्तै छ । टेलिभिजनमा गयो  र्‍याईर्‍याईं गरेको छ । एउटा पत्रिका भनेको छ,  र्‍याईंर्‍याईं गरेको छ । यो  र्‍याईंर्‍याईं यो साँझतिर झ्याउँकिरीले झ्याउँझ्याउँ गर्छ त्यो भन्दा बढ्ता गरेर । यति बेला संसद पुनःस्थापना, प्रतिक्रियावादका विरुद्ध लड्नुपर्ने केपी ओली राजीनामा दे, राजीनामा दे । यो आज मात्रै भनेको हो र ?’
अध्यक्ष ओलीले आफूलाई सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गर्ने नेताहरुलाई ल्याएर उपाध्यक्ष राखेर पार्टी अघि बढाएको बताए । उपाध्यक्ष सुरेन्द्र पाण्डे र सचिव योगेश भट्टराईप्रति लक्षित गर्दै अध्यक्ष ओलीले कराँते सिक्ने काम आफ्नो टाउकोलाई बनाएर नेताहरुले काम गरिरहेको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *