`

प्रधानमन्त्री कार्कीले बोलाइन् राष्ट्रिय सुरक्षा परिषदको बैठक बस्दै

Nepal One HD ४ मंसिर २०८२ १४:२२
प्रमुख खबर

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषदको बैठक बोलाएकी छिन् । आज दिउँसो २ः३० बजे बस्ने गरी बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ । सिंहदरबारस्थित सुरक्षा परिषद्को सचिवालयमा बस्ने बैठकले फागुन २१ का लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली सेना परिचालन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारी छ ।

एकीकृत निर्वाचन सुरक्षा योजना–०८२ केन्द्रीय सुरक्षा समितिबाट पारित भइसकेको छ । सेना परिचालनको सिफारिस प्रयोजनार्थ गृहमन्त्रालयले रक्षा मन्त्रालयमार्फत सुरक्षा परिषद्मा पत्राचार गरिसकेको छ । भदौ २३ र २४ को जेनजी आन्दोलनले बिग्रिएको शान्ति सुरक्षाको अवस्था अहिले पनि साम्य भइसकेको छैन । निर्वाचनका लागि सुरक्षा वातावरण नभएको भन्दै दलहरूले सरकारको आलोचना गरिरहेका छन् । सुरक्षा वातावरण बनाउन भन्दै सरकारले यस पटक नेपाली सेनालाई चाँडै फिल्डमा उतार्न लागेको हो ।

यसअघिका निर्वाचनमा निर्वाचन हुनुभन्दा एक महिनाअघि मात्रै सेना परिचालन गरिँदै आएको थियो । तर, यस पटक सुरक्षा अवस्था असामान्य रहेकाले पहिल्यै सेना खटाउन लागिएको हो । ३५ सय मतदान केन्द्र अति संवेदनशील, केही दिनमै सेना खटाउने सरकारको तयारी छ । बाराको सिमरामा उत्पन्न भएको परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको जनाइएको छ । यसअघि हिजो साँझ पनि गृह मन्त्रालयमा सुरक्षा परिषद्को बैठक बसेको थियो । गृहमन्त्री ओमप्रकाश अर्यालले आजै बिहान पनि आफ्ना मातहतका सबै सुरक्षा प्रमुखसँग सिंहदरबारमा छलफल गरेका थिए ।

जेनजी युवाहरूले बुधबार सिमरा विमानस्थलमा तोडफोड गरेका थिए । एमाले नेताहरू जाने भएपछि विरोधमा उत्रिएका युवाहरूले सडकमा आगजनी समेत गरेपछि अवस्था तनावग्रस्त बनेको थियो । बुधबार साँझ ८ बजेसम्म कफ्र्यु लगाइएको थियो । आज पुनः अवस्था तनावग्रस्त बनेपछि त्यहाँ कर्फ्यु लगाइएको छ । उक्त घटनाबारे ध्यानाकर्षण गराउँदै शान्ति सुरक्षा मजबुत बनाउन राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण गराएको छ ।

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *