`

सरकारले माटो व्यवस्थापनलाई प्राथमिकता दिएको छ : मन्त्री परियार

Nepal One HD १९ मंसिर २०८२ १३:१७
प्रमुख खबर

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. मदनप्रसाद परियारले सरकारले माटो व्यवस्थापन कार्यलाई प्राथमिकतामा राखेको बताएका छन् । १२ औं विश्व माटो दिवसको अवसर पारेर शुक्रवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो दाबी गरेका हुन् ।

मन्त्री परियारले माटो तथा मल परीक्षणका लागि केन्द्रिय कृषि प्रयोगशालाले किसानहरुलाई सेवा प्रदान गर्दै आएको समेत बताए । उनले देशभर माटो परीक्षण गरी डिजिटल माटो नक्शालाई अध्यावधिक गर्ने काम पनि भईरहेको बताए । सरकारले माटो परीक्षण, सन्तुलित मलको प्रयोगका लागि प्राविधिक तथा किसानको क्षमता अभिवृद्धि जस्ता कामहरु गर्दै आएको मन्त्री परियारको जिकिर थियो ।

उनले भने, ‘माटो व्यवस्थापन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको प्राथमिकतामा रहँदै आएको छ । माटो तथा मल परीक्षणका लागि कृषि विभाग अन्तर्गत केन्द्रिय कृषि प्रयोगशालाबाट प्रयोगशाला सेवा प्रदान हुँदै आएको छ । कृषि विभाग, केन्द्रिय कृषि प्रयोगशाला, राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र तथा प्रदेश सरकार मातहतका प्रयोगशालाहरुको समन्वयमा देशभर माटो परीक्षण गरी डिजिटल माटो नक्शालाई अध्याबधिक गर्ने कार्य भईरहेको छ । यसबाट कृषकहरुले आफ्नो जमिनको माटोको खाद्यतत्वको अवस्थाको जानकारी लिई सो बमोजिम सन्तुलित मलखाद्य उपयोग गर्नसक्नु हुनेछ । साथै माटो परीक्षण, सन्तुलित मलखाद्य प्रयोग सम्बन्धमा प्राविधिक तथा किसानको क्षमता अभिवृद्धि एवं रसायनिक एवं प्राङ्गारिक मल व्यवस्थापन सम्बन्धि कार्यहरु नियमित हुँदै आएको छ ।’ मन्त्री परियारले रसायनिक एवं प्राङ्गारिक मल व्यवस्थापनका लागि पनि सरकारले ठोस योजनाका साथ काम गरिरहेको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *