`

मुख्यमन्त्री यादवको आज शपथ, २४ गते विश्वासको मत

Nepal One HD २१ मंसिर २०८२ ११:५१
प्रमुख खबर

जनकपुरधाम । मधेस प्रदेशका नव नियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज (केहीबेरमा) पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । मुख्यमन्त्रीको कार्यालयले आज शपथ ग्रहण समरोहका लागि मधेस भवनमा तयारी गरेको छ । कांग्रेस संसदीय दलका नेता यादव ७ दलका ७७ प्रदेश सभा सदस्यहरूको समर्थनमा यही मंसिर १९ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने बताइए पनि दलहरूमा आन्तरिक तयारी नपुगेकाले मन्त्रिमण्डल गठन निश्चित छैन ।

संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले मंसिर १७ गते राजीनामा दिएपछि धारा १६८ को उपधारा २ बमोजिम कांग्रेस दलका नेता यादव मुख्यमन्त्री नियुक्त भएका हुन् । यस्तै नव नियुक्त मुख्यमन्त्री यादवले मंसिर २४ गते विश्वासको मत लिने भएका छन् । आज बसेको सत्तापक्षीय सातदलीय गठबन्धनको बैठकले आगामी मंसिर २४ गते विश्वासको मत लिने निर्णय गरेको जसपाका प्रमुख सचेतक राम असिस यादवले जानकारी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *