`

जेनजी विद्रोह दमन गर्नेमाथि अन्तर्राष्ट्रिय रूपमा घेराबन्दी गर्छौं: गृहमन्त्री अर्याल

Nepal One HD २३ मंसिर २०८२ १९:०३
राजनीति

गृहमन्त्री ओमप्रकाश अर्यालले जेन–जी विद्रोहमाथि दमन गर्नेहरुलाई राज्य प्रणालीभित्रबाट मात्रै नभई अन्तर्राष्ट्रिय रूपमा समेत घेराबन्दी गर्ने बताएका छन्।मंगलबार जेन–जी शहीदहरुको सम्झनामा काठमाडौंमा आयोजित दीप प्रज्वलन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले जेन–जी घाइते तथा शहीदका मागहरु पूरा गर्दै कारबाहीका विषयमा दृढतापूर्वक अघि बढ्ने बताए । सत्तामा बसेकाहरू कुशासनको अभियन्ता बनेकै कारण जेन–जी विद्रोह भएको तर्क गर्दै मन्त्री अर्यालले वर्तमान सरकार शहीदको सपनाअनुसार सुशासन प्रत्याभूत गर्न प्रतिबद्ध रहेको बताए ।

उनले मुलुकमा सुशासन कायम गर्न सरकार लागि परेको उल्लेख गर्दै केही कमजोरी देखिए औंल्याउन समेत आग्रह गरे । उनले जेन–जी विद्रोह र सरकारी दमनको विषयमा जाँचबुझ आयोगका साथै प्रहरी र मानव अधिकार आयोगले समेत अनुसन्धान गरिरहेको भन्दै ढिलो चाँडो कारबाहीको दायरामा ल्याइने दाबी गरे।

उनले भने, ‘सत्तामा बस्नेहरु कुशासनको अभियान्ता बनेको कारण जेनजी विद्रोह भएको हो । त्यसकारण शहीदको सपनाबमोजिम अब हामी सुशासनको अभियान्ता बन्नुपर्छ । अहिलेको सरकारमा बसेर हामी सुशासनको अभियान्ता बन्ने प्रयासमा रहेका छौं । यहाँहरुले पनि हाम्रा कमजोरीहरु देख्नुभयो भने औंल्याइदिनु होला । हामी त्यसमा सुधार गर्छौं ।’

सरकारले गरेका कतिपय कामको परिणाम आउन समय लाग्ने भन्दै उनले सरकार अझ व्यवस्थित रुपमा अघि बढ्ने बताए । भदौ २३ को विद्रोह दमन गर्नेलाई नेपालको राज्यप्रणालीबाट मात्रै नभएर नभएर अन्तर्राष्ट्रिय दबावबाट पनि कारबाहीको दायरामा ल्याउन काम गरिरहेको उनले बताए ।

‘नेपालको राज्य प्रणालीभित्रबाट पनि कारबाही गर्छौं  र जो दोषि छन् त्यस्ता तत्वहरुलाई अन्तर्राष्ट्रिय रुपबाट पनि हामी घेराबन्दी गर्छौं,’ मन्त्री अर्यालले भने, ‘त्यसैको लागि अहिले जाँचबुझ आयोग बनेको छ । राष्ट्रिय मानव अधिकार आयोगले पनि यसका लागि छुट्टै अनुसन्धान गरिरहेको छ । त्यसले पनि कारबाहीको सिफारिस गर्छ ।’

उनले नागरिक सरकार गठन भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई काम गर्ने वातावरण बनेको दाबी पनि गरे । पर्दा पछाडि बसेर नेताहरुलाई नचाउँदै जनतालाई दुःख दिने केही तत्वहरु कारबाहीको दायरामा ल्याइसकिएको उनको दाबी छ ।

उनले भने, ‘भ्रष्टाचारको मामलामा अख्तियारले हामी सरकारमा आइसकेपछि काम गर्ने वातावरण पाएको छ । कति वटा मुद्दा दर्ता गर्यौं यहाँहरुले यसमा धन्यावाद दिनुपर्छ । यो देशको नेताहरुलाई पनि नचाउने र पर्दा पछाडि बसेर नेताहरुलाई समेत दोहन गर्नसक्ने तत्वहरु पहिचान भइसकेका छन् । तीमध्ये केही त कारबाहीको दायरामा पनि गइसके । नेपाल प्रहरी र सिआईबीले समेत कतिपय मुद्दाहरुको अनुसन्धान गरिरहेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *