`

भिजिट भिसा प्रकरण : सहसचिव भट्टराईसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Nepal One HD २५ मंसिर २०८२ १५:१३
अपराध

काठमाडौं । भिजिट भिसा तस्करी प्रकरणमा नेपाल सरकारका सहसचिव तीर्थराज भट्टराई र शाखा अधिकृत यज्ञ अर्यालसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराई र अर्यालसहित ६ जनालाई प्रतिवादी बनाएर बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । भिजिट भिसामा विदेश जाने नेपाली यात्रुबाट रकम असुलेको आरोपमा उनीहरूमाथि अख्तियारले लामो समयदेखि अनुसन्धान गरेको थियो । सह सचिव भट्टराई ७ जेठ २०८२ मा विमानस्थलबाटै समातिएका थिए । उनी त्यतिबेला विमानस्थल अध्यागमन प्रमुख समेत थिए ।

अख्तियारले सहसचिव तीर्थराज भट्टराईविरुद्ध करिब ७९ लाख र अर्यालविरुद्ध ५ लाख विगो माग दावी गरेको छ । अख्तियार स्रोतका अनुसार मुद्दा दायर भएका अन्य चार जना भिजिट भिसा तस्करीमा विचौलिया लगायतको भूमिकामा काम गरेकाहरु छन् । भिजिट भिसामा विदेश जाने सर्वसाधारण नेपालीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका अधिकारीहरूले पैसा असुल्ने धन्दा चल्दै आएको छ । प्रहरीको अनुसन्धानका आधारमा १० माघ २०८० मा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले विमानस्थल अध्यागमनका ९ अधिकृतसहित २२ जनाविरुद्ध संगठित अपराध र किर्ते अभियोगमा मुद्दा दायर गरेको थियो । तर एक वर्षपछि १४ मंसिर २०८१ मा काठमाडौ जिल्ला अदालतले बिचौलिया र ट्राभल एजेन्सी सञ्चालकलाई मात्रै दोषी ठहर गरेको थिए ।

यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीसहित चार जनाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । जोशीसहित चार जनाविरुद्ध गलत लिखत तयार गरी भ्रष्टाचार गरेको भन्दै बिहीबार विशेष अदालतमा मुद्दा दायर भएको हो । जोशीसहित पालिकाका सब–इन्जिनियर जय कुँवर, असिस्टेन्ट सब–इन्जिनियर तेजबहादुर सुनार र जग्गाधनी शान्ति नाथलाई प्रतिवादी बनाइएको छ । बेलडाँडी गाउँपालिकाका–२ बस्ने शान्ति नाथले बेलडाँडी गाउँपालिका–२ स्थित कित्ता नम्बर ३५७ क्षेत्रफल ४ सय वर्गमिटर जग्गामा हुँदै नभएको घर छ भनी नक्सा तयार गराएर घर जग्गा धितोमा राखी लक्ष्मी सनराइज बैंकबाट ऋण लिएको अभियोगपत्रमा उल्लेख छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *