`

नेपालमा ‘मिचाहा प्रजाति’ ठूलो समस्याको रुपमा देखिएको छ : मन्त्री परियार

Nepal One HD २६ मंसिर २०८२ १२:५९
प्रमुख खबर

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. मदनप्रसाद परियारले नेपालमा मिचाहा प्रजाति ठूलो समस्याको रुपमा देखिएको बताएका छन् । शुक्रवार ललितपुरमा आयोजित प्रथम वाह्य मिचाहा प्रजाति व्यवस्थापन राष्ट्रिय सम्मेलन, २०८२ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालका सुन्दरतम तालतलैयाहरु र पर्यावरणमा मिचाहा प्रजातिले ठूलो असर गरेको उल्लेख गरे ।

चरन क्षेत्रहरुमा गन्धेझारहरुले वस्तुभाउको बासस्थान ध्वस्त पारेको र राष्ट्रिय निकुञ्ज तथा आरक्षहरुमा फैलिएको वनमारा तथा लहरे वनमारा, जंगली सिलाम आदिले वन्यजन्तुको आश्रयस्थल नोक्सानी गर्नुका साथै बासस्थान नोक्सानी गरेको जिकिर गरे । जसले वन्यजन्तु संरक्षित क्षेत्र भन्दा बाहिर आइ मानव—वन्यजन्तु द्वन्द्व बढेको पनि बताए । मिचाहा वनस्पती वनभित्र सुख्खा याममा वन डढेलोको प्रमुख कारक भएको उल्लेख गरे ।

उनले भने, ‘नेपालमा पनि मिचाहा प्रजाति ठूलो समस्याको रुपमा देखिएको छ । हाम्रा सुन्दरतम तालतलैयाहरु, जलकुम्भीले यसले पर्यावरणीय क्षति गरेको छ । चरन क्षेत्रहरुमा पार्थेनियम र गन्धेझारहरुले वस्तुभाउको बासस्थान ध्वस्त पारिसकेको छ । हाम्रा राष्ट्रिय निकुञ्ज तथा आरक्षहरुमा फैलिएको वनमारा तथा लहरे वनमारा, जंगली सिलाम आदिले वन्यजन्तुको आश्रयस्थल नोक्सानी गर्नुका साथै बासस्थान नोक्सानी गरेको छ । जसले गर्दा वन्यजन्तु संरक्षित क्षेत्र भन्दा बाहिर आइ मानव—वन्यजन्तु द्वन्द्व बढेको छ । वनभित्र सुख्खा याममा मिचाहा वनस्पती, वन डढेलोको प्रमुख कारक भएको छ ।’ मन्त्री परियारले वाह्य मिचाहा प्रजातिले स्थानीय जैविक विविधता, पारिस्थितिक प्रणाली, कृषि उत्पादन तथा पशुपालन र मानव स्वास्थ्यमा ठूलो असर पारिरहेको बताए । मिचाहा प्रजातिले पार्ने नकारात्मक प्रभाव वर्षेनी बढ्दै गएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *