`

समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ

Nepal One HD २६ मंसिर २०८२ २१:५२
प्रमुख खबर

चन्द्रपुर (रौतहट) – भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास एवं ऊर्जामन्त्री कुलमान घिसिङले समयमै पूर्वाधार निमार्ण सम्पन्न नगरे निर्माण कम्पनीको ठेकेदारसँग ठेक्का तोड्ने चेतावनी दिनुभएको छ । आज रौतहटको चन्द्रपुर नगरपालिका–३ स्थित चाँदीनदीमा रहेको अलपत्र पुलको अनुगमन गर्दै उहाँले ठेकेदारले निर्धारित समयमा काम सक्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री घिसिङले ठेकेदार दयाराम साहलाई अनुगमनस्थलमा बोलाएर यथाशीघ्र अलपत्र पुलको काम सम्पन्न गर्न निर्देशन दिनुभयो । ठेकेदार साहले जेठभित्र कुनै पनि हालतमा काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएपछि मन्त्री घिसिङले यदी काम गर्न नसक्ने हो भने ठेक्का तोड्ने दिने चेतावनी दिनुभयो ।

ठेकेदार साहले पुलको करिब ७५ प्रतिशत काम सम्पन्न भइसकेको जनाउँदै बाँकी आगामी जेठभित्र बाँकी काम गर्ने प्रतिबद्धता जनाउनुभयो । पुल निर्माण गर्न पप्पु शिवशङ्कर जेभीले २०७४ असार ३१ गते २५ करोड ३६ लाख २४ हजारमा सम्झौता गरेको थियो । पुल सम्पन्न नहुँदा गैडाटारवासीले सास्ती खेप्दै आइरहेका छन् ।

मन्त्री घिसिङले हुलाकी राजमार्गअन्तर्गत रौतहट र सर्लाही जोड्ने गरी बागमती नदीमा बनाउन लागिएको बडहर्वा पुलको पनि अनुगमन गर्नुभयो । दुर्गा भगवती गाउँपालिका–५ बडहर्वास्थित बागमती नदीमा निर्माणाधीन पुल १५ वर्षदेखि अलपत्र छ ।

विसं २०६७ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल तथा भौतिक निर्माण तथा यातायातमन्त्री विजयकुमार गच्छदारले संयुक्त रूपमा उक्त पुलको शिलान्यास गर्नुभएको थियो । उक्त पुल निर्माण हुन नसक्नुको कारणबारे आफूले छानबिन गर्ने मन्त्री घिसिङले बताउनुभयो । विकासको मुख्य आधार भनेको पुल भएकाले यस्ता पूर्वाधार निर्माण र विकास रोक्न नहुने उहाँले धारणा राख्नुभयो ।

पूर्वाधार निर्माणको अनुगमनसँगै मन्त्री घिसिङले आजै धार्मिक पर्यटकीय क्षेत्रको रूपमा रहेको रौतहटको शिवनगरस्थित शिव मन्दिरको अवलोकन गर्नुभएको छ । आज बिहान उहाँले रौतहटको चन्द्रपुर–८ मर्धरमा ‘जन्मदिनलाई सतकर्ममा जोडौँ’ भन्ने अभियानअन्तर्गत वृक्षरोपण जन्मोत्सव कार्यक्रमको उदघाटनसमेत गर्नुभएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *