बन्दरगाह र ऊर्जा सुविधाहरूमा ‘सीमित युद्धविराम’को लागि पुटिनलाई दबाब
टर्कीका राष्ट्रपति रेसेफ तैयप एर्दोगानले रूसको युक्रेनसँगको युद्धमा ‘सीमित युद्धविराम’ भएपनि लागु गर्न आह्वान गर्नुभएको छ। बन्दरगाह र ऊर्जा सुविधाहरूलाई लक्षित गर्दै शुक्रबार आफ्नो रूसी समकक्षी भ्लादिमिर पुटिनसँगको प्रत्यक्ष वार्तामा ‘सीमित युद्धविराम’ भएपनि लागु गर्न आह्वान गर्नुभएको हो ।
उहाँको कार्यालयले एर्दोगानले तुर्कमेनिस्तानमा भएको शिखर सम्मेलनको दौरानमा रूसी नेतासँग भएको भेटमा ‘युद्ध अन्त्य गर्ने प्रयासहरू मूल्यवान छन् । विशेषगरी, ऊर्जा सुविधाहरू र पोर्टहरूलाई लक्षित गर्दै सीमित युद्धविराम लागू गर्नु लाभदायक हुनसक्छ’ भन्नुभएको जनाएको छ।
एर्दोगानको भनाइ ‘रेड सी’ मा रूससँगको सम्बन्धित ट्याङ्करहरूमा भएको केही आक्रमणहरूको पृष्ठभूमिमा आएका हुन्, जसमा केही ड्रोन आक्रमणहरू किएभले गरेको दाबी गरिएको छ ।
यसले अङ्काराको तर्फबाट कडा आलोचना भएको छ । यसै बिषयलाई लिएर अङ्कराले रूस र युक्रेनका प्रतिनिधिहरूलाई सोधपुछका लागि बोलाएको र यस्तो आक्रमणहरूको ‘चिन्ताजनक वृद्धि’ प्रति चेतावनी दिएको छ।
टर्कीले युद्धभरि मस्को र किएभसँगको सम्बन्धमा सन्तुलन कायम राख्न खोजेको छ । युक्रेनी अन्न र रूसी तेललाई भूमध्य सागरतर्फ पठाउने प्रमुख मार्ग बोस्फोरस स्ट्रेट (जलमार्ग) को बचाउका लागि भुमिका खेल्दै आएको छ।
एर्दोगानले गत नोभेम्बरमा युक्रेनका सहयोगीहरूको अनलाइन बैठकको क्रममा ऊर्जा र पोर्ट पूर्वाधारलाई समेट्ने युद्धविराम सम्झौताले समग्र शान्ति सम्झौताका लागि वार्ताको सम्भावित आधारको रूपमा काम गर्न सक्ने बताउनुुभएको थियो ।
