`

सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन

Nepal One HD २ पुष २०८२ १८:५१
समाज

सिरहा – यहाँको सिरहा नगरपालिका–१९ सन्हैठास्थित सशस्त्र प्रहरी बल नेपाल नं ७ गण सिरहाको परिसरभित्र नवनिर्मित दुई तले ब्यारेक भवनको उद्घाटन गरिएको छ । सशस्त्र प्रहरी बल मधेश प्रदेश प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकालले आज एक समारोहबीच उक्त भवनको उद्घाटन गर्नुभएको हो ।

सो अवसरमा सशस्त्र प्रहरी ढकालले शान्ति र सुरक्षाप्रतिको जिम्मेवारीलाई आत्मसात् गर्दै राज्यको निर्देशन अक्षरशः पालन गर्न सुरक्षाकर्मीलाई निर्देशन दिनुभयो । सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि कडाइका साथ निगरानी बढाउन तथा नागरिकको जिउधनको रक्षा गर्न दिनरात क्रियाशील रहनुपर्ने उहाँको भनाइ थियो ।

वर्तमान सुरक्षा अवस्था संवेदनशील रहेको उल्लेख गर्दै सशस्त्र प्रहरी नायब महानिरीक्षक ढकालले जेनजी आन्दोलनपछिको अवस्थामा सुरक्षाकर्मीको जिम्मेवारी थपिएको बताउनुभयो । उहाँले शान्ति सुरक्षा कायम राख्दै आगामी निर्वाचनका लागि तयारीमा जुट्न पनि निर्देशन दिनुभयो ।

सीमा सुरक्षा मुख्य प्राथमिकता भएको भन्दै उहाँले अवैध आवतजावत, लागुऔषध, मानव तस्करी तथा चोरी तस्करी नियन्त्रणमा थप सक्रियता देखाउन आग्रह गर्नुभयो । “राज्यका सबै सुरक्षा निकायले हातेमालो गरेर अघि बढ्नुपर्छ, जनताले तिरेको करबाट बनेको भवनको सदुपयोग गर्दै अझ जिम्मेवार भएर शान्ति सुरक्षा कायम राख्नुपर्छ,” सशस्त्र प्रहरी नायब महानिरीक्षक ढकालले भन्नुभयो ।

सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीका अनुसार ब्यारेक भवन दुई चरणमा निर्माण गरिएको हो । पहिलो चरणमा रु ६१ लाख ७७ हजार र दोस्रो चरणमा रु ५४ लाख ६ हजार लागतमा भवन निर्माण भएको हो । नवनिर्मित भवन आवासीय प्रयोजनका लागि प्रयोग गरिनेछ ।

यसैगरी, आजै नवराजपुर गाउँपालिका–४ नवराजपुरमा सशस्त्र प्रहरी बलको बिओपी कार्यालयको पनि उद्घाटन गरिएको छ । उक्त बिओपी कार्यालय रु ३९ लाख ७० हजार लागतमा निर्माण गरिएको सशस्त्र प्रहरी उपरीक्षक भण्डारीले जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेश महतोले नवनिर्मित संरचनाले सञ्चालनमा आएपछि सीमामा हुने सुरक्षात्मक गतिविधि अझ प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । उद्घाटन कार्यक्रममा औरही गाउँपालिका अध्यक्ष शिवजी यादव, सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलसहित जिल्लास्थित चारवटै सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

सिरहाको भारतसँग जोडिएको ४६ किलोमिटर सिमानामा सशस्त्र प्रहरी बल नेपाल नं ७ गण अन्तर्गत दुई सीमा सुरक्षा गुल्म र पाँच बिओपी गरी सातवटा युनिट सिमानामा रहेका छन् भने पाँच सुरक्षा वेश र जिल्ला सदरमुकाम सुरक्षा वेश एउटा गरी जम्मा १३ वटा कार्यालय रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *