`

देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द

Nepal One HD ५ पुष २०८२ १६:१३
प्रमुख खबर

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्दले देशको प्रधानमन्त्री भई देशको सेवा गर्ने चाहना रहेको बताएका छन् ।

काठमाडौंमा शनिबार आयोजित जेन–जीसँग अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले आगामी निर्वाचनमा नेकपा माओवादीले पनि भाग लिने र जनताले विश्वास गरेमा देशको कार्यकारी भएर काम गर्ने चाहना भएको बताए। तर तोकिएकै समय (फागुन २१) मा नेपालमा निर्वाचन हुनेमा उनले आशंका जनाए ।

सुशिला कार्की नेतृत्वको सरकारले निर्वाचन गर्नेकुरा कसैले नपत्याएको उनको भनाई छ । प्रहरी, कर्मचारीको मनोबल गिरेको, लुटिएका हतियार फिर्ता नभएको, निर्वाचनको लागि आवश्यक रकम नभएको कारण उल्लेख गर्दै उनले निर्वाचन हुनेमा शंका व्यक्त गरे। उनले सर्वपक्षिय अन्तरिम सरकार गठन गरेर अगाडी बढ्नुपर्नेमा पनि जोड दिए । सर्वसहमतिबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीको व्यवस्थामा जानुपर्ने उनको भनाई  छ। उनले जेन–जीको माग पनि प्रत्यक्ष निर्वाचित कार्यकारी नै भएको बताए।

उनले भने, ‘नेपालमा चुनाव हुन्छ कि हुन्न, एउटा शंका छ, सबैलाई । सुशीला कार्कीको सरकारको चुनावको कुरा पनि मान्छेले पत्याईरहेका छैनन् । पुलिसहरुको हतियार कति लुटियो भन्दाखेरी लगभग १६ सय हतियार लुटियो भन्नेछ । त्यो १६ सय हतियारहरु फिर्ता भएको छैन । प्रहरी साथीहरुसँग भेट हुँदा के भन्नुहुन्छ भने, चुनाव गर्न सक्नेगरि प्रहरीको मनोबल उठेको छैन ।’

उनले अन्तरिम सर्वपक्षिय सरकार बनाएर जेनजीका मागहरु सम्बोधन गर्नुपर्ने दोहोर्‍याए । साथै, नेपालमा एकचोटी प्रत्यक्ष चुनावबाट राष्ट्रपति चुन्ने या सबै जनताको भोटबाट प्रधानमन्त्री चुन्ने व्यवस्थातिर जानुपर्छ भन्ने जेन–जीको पनि आफ्नो पनि माग भएको बताए ।

यो पटकको चुनावमा आफ्नो पार्टी पनि सहभागी हुने उनले प्रष्ट पारे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *