योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस् : स्वामी आनन्द अरुण
काठमाडौं । काठमाडौंको मुटु मानिने टुँडिखेल आइतबार बिहान ध्यानमय बन्यो । हरेक वर्ष डिसेम्बर २१ का दिन मनाइने ‘विश्व ध्यान दिवस’ का अवसरमा आयोजित विशेष कार्यक्रममा सहभागीहरूले सामूहिक योग र ध्यान गर्दै यो दिवस मनाएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै ओशो तपोवनका संरक्षक स्वामी आनन्द अरुणले नेपालमा आध्यात्मिक पर्यटनको प्रचुर सम्भावना हुँदाहुँदै पनि राज्यले उपेक्षा गरेको गुनासो गरे ।
उनले ओशो तपोवनमा हाल पनि करिब ६० देशका नागरिकहरू आत्मिक शान्तिको खोजीमा ध्यान गर्न आउने गरेको तथ्य प्रस्तुत गरे । उनले भौतिक विकासको चरम चुलीमा पुगेका विकसित राष्ट्रहरूमा नेपालमा भन्दा बढी ध्यान र योगको भोक जागेको बताए । तर, नेपाल सरकारले भने यस क्षेत्रको विकासमा आवश्यक सहयोग नगरेको उनको तर्क थियो ।
स्वामी आनन्द अरुणले योग, ध्यान र आयुर्वेद क्षेत्रलाई नियमन र संरक्षण गर्नका लागि सरकारले छुट्टै मन्त्रालय खडा गर्नुपर्ने माग राखे । आयुर्वेदको संवद्र्धन र ध्यानका साधकहरूको अभिभावकत्व ग्रहण गर्ने निकायको अभाव खड्किएको उनले बताए । सम्बोधनका क्रममा उनले धार्मिक तथा आध्यात्मिक संस्थाहरूको आर्थिक कारोबारमा सरकारले कर लगाएको विषयमा तीव्र असन्तुष्टि व्यक्त गरे ।
