`

गिरफ्तार गरिएका राष्ट्रपति मादुरो अमेरिकामा, नयाँ सरकार नबनेसम्म भेनेजुएलामा अमेरिकी शासन

Nepal One HD २० पुष २०८२ ७:४५
विश्व

काठमाडौं । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरी न्यूयोर्क पुर्‍याएको दाबी गर्दै नयाँ सरकार नबनेसम्म भेनेजुएलाको शासन अमेरिकाले सम्हाल्ने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा मादुरोको तस्बिर सार्वजनिक गर्दै उनलाई अमेरिकी सेनाको नियन्त्रणमा राखिएको बताएका हुन् ।

सार्वजनिक तस्बिरमा मादुरो हत्कडीसहित, आँखामा कालोपट्टी र कानमा हेडफोन लगाएको अवस्थामा देखिन्छन् । तस्बिरसँगै ट्रम्पले ‘निकोलस मादुरो यूएसएस इवो जिमा (युद्धपोत) मा’ भन्ने क्याप्सन लेखेका छन् । मादुरोकी पत्नी सिलिया फ्लोरेस पनि पक्राउ परेको दाबी भए पनि तस्बिरमा उनी देखिँदैनन् ।

फ्लोरिडामा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले ‘सुरक्षित, सही र विवेकपूर्ण सत्ता हस्तान्तरण नहुन्जेलसम्म भेनेजुएलाको शासन अमेरिकाले चलाउने’ बताएका छन्। उनले अमेरिकी सेनाको प्रशंसा गर्दै अपरेसनका क्रममा कुनै अमेरिकी सैनिकको मृत्यु वा क्षति नभएको दाबी गरे । साथै, समुद्री मार्गबाट हुने लागुऔषध ओसारपसार ९७ प्रतिशत नियन्त्रणमा आएको उनको भनाइ छ ।

अमेरिकी महान्यायाधिवक्ता पामेला बोन्डीले मादुरोमाथि नार्को–आतंकवाद, कोकिन आयात षड्यन्त्र, अवैध हतियार राख्ने लगायत गम्भीर अभियोग लगाइने बताएकी छन् । मादुरोलाई आगामी हप्ता म्यानहट्टनस्थित अदालतमा उपस्थित गराइने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

अमेरिकाले शनिबार बिहान कराकाससहितका शहरमा हवाई हमला गरेको र त्यसक्रममा डेल्टा फोर्सले मादुरो दम्पतीलाई निवासबाटै नियन्त्रणमा लिएको दाबी गरिएको छ । तर भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रपति र प्रथम महिलाको अवस्था अज्ञात रहेको भन्दै दुवै जीवित रहेको प्रमाण तत्काल माग गरेकी छन् ।

अमेरिकी कारबाहीको रूस, चीन, कोलम्बिया लगायत देशहरूले कडा निन्दा गरेका छन् । रूसी विदेश मन्त्रालयले यसलाई भेनेजुएलामाथिको सशस्त्र आक्रमण भन्दै अन्तर्राष्ट्रिय कानुनविपरीत भएको जनाएको छ । कोलम्बियाले पनि संयुक्त राष्ट्रसंघको चार्टर अनुसार एकपक्षीय सैन्य कारबाही अस्वीकार्य हुने प्रतिक्रिया दिएको छ ।भेनेजुएलाका रक्षामन्त्री भ्लादिमिर पाद्रिनो लोपेजले देशभर सैन्य बल परिचालन गरिएको घोषणा गर्दै यसलाई अहिलेसम्मकै ठूलो आक्रमणको संज्ञा दिएका छन्। ‘हामीमाथि आक्रमण भयो, तर हामी झुक्ने छैनौं’, भन्दै उनले जनतालाई एकजुट हुन आह्वान गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *