विशेष महाधिवेशनले जस्तो निर्णय गरे पनि कांग्रेसलाई क्षति नै हुन्छ: जगत नेपाल
जगत नेपाल नेपाली कांग्रेसको इतिहासलाई गहिरोगरी अध्ययन गरेका अध्येता र लेखक हुन् । उनका ‘बीपीको विद्रोह’, ‘पहिलो संसद: बीपी महेन्द्र टकराव’ प्रकाशित छन् भने उनी कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधामन्त्री गिरिजाप्रसाद कोइरालाको आत्मकथा ‘आफ्नै कुरा’ को सम्पादक पनि हुन् ।
कांग्रेसको स्थापनादेखि अहिलेसम्मको इतिहासलाई नजिकाबाट नियालिरहेको अध्येता नेपालसँग आजबाट सुरू भएको नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबारे गरिएको कुराकानी:
- नेपाली कांग्रेसको जीवनमा विशेष महाधिवेशन भनेको दुर्लभ घटना हो। दोस्रो विशेष महाधिवेशन आजबाट सुरु भएको छ। त्यो विशेष महाधिवेशनको आवश्यकता किन पर्यो र यसको सान्दर्भिकता के हो?
संगठनले कुनै नीतिगत निर्णय गर्नुपर्यो वा कुनै क्राइसिस आयो भनेर नेतृत्व परिवर्तन गर्नुपर्यो अथवा समयमा नियमित महाधिवेशन गर्न सकिएन र तत्काल निर्णय लिनुपर्ने भयो भने विशेष महाधिवेशन गर्ने हो ।
नेपाली कांग्रेसको ८ दशक लामो इतिहासमा दुईवटा विशेष महाधिवेशन भएका छन्। एउटा २०१४ सालमा भएङ्को थियो । यसबेला २००७ सालको क्रान्तिपछि संविधानसभाको चुनाव गर्ने म्यान्डेट थियो तर दरबार र दलहरूबीचको ‘कन्ट्रोभर्सी’का कारण संविधानसभाको चुनाव हुन सकेन। सुरुमा बीपीले सुवर्ण शमशेरलाई प्रधानमन्त्री बनाए। पार्टीकै सभापति बनाएर राजाले चुनाव गराउन सजिलो हुन्छ कि भनेर सुवर्ण शमशेरको नेतृत्वमा कांग्रेसको महाधिवेशन गरियो र सुवर्ण शमशेरलाई सभापति बनाइयो। तर, चुनाव नहुने परिस्थिति बनेपछि राजालाई दबाब दिनुपर्ने भयो र इलेक्सनमा जानुपर्ने अवस्था आयो। त्यो अवस्थामा विशेष महाधिवेशनबाट सुवर्ण शमशेरको प्रस्तावमा बीपी कोइराला सभापति बनेका थिए।
अहिले पनि कांग्रेसको नेतृत्वमाथि खासगरी जेनजी आन्दोलनपछि जुन प्रश्न उठ्यो, त्यसलाई सम्बोधन गर्न विशेष महाधिवेशनको माग गरियो। पार्टी नेतृत्वले नबोलाएपछि दुई महामन्त्रीको अगुवाइमा यसलाई कार्यान्वयनमा लगिएको छ ।
- यो विशेष महाधिवेशनले नयाँ नेतृत्व छनोट गर्छ कि गर्दैन भन्ने विषयमा अहिले पनि विभिन्न अड्कलबाजी छन्। उहाँहरूले प्रस्ट रूपमा भन्नुभएको छैन। धेरैजसो प्रतिनिधिहरूले भने यो महाधिवेशनले नयाँ नेतृत्व छनोट गरेर जानुपर्छ भनेका छन्। यदि महाधिवेशनले नयाँ नेतृत्व छनोट नगर्ने हो भने यसको सान्दर्भिकता वा महत्व रहन्छ कि रहँदैन?
नेपाली कांग्रेसको इतिहासमा यो अत्यन्तै जटिल मोड हो। एकातिर नेतृत्वमाथि सबैभन्दा ठूलो प्रश्न उठेको छ। यहाँसम्म कि अहिलेको नेतृत्वलाई लिएर चुनावमा जान सकिँदैन भन्ने मान्यता बनाएर नै यो विशेष महाधिवेशन बोलाइएको हो। अर्कोतिर तत्काल चुनाव हुँदैछ। त्यसकारण नयाँ नेतृत्व चयन गर्दा कांग्रेस विभाजन हुन सक्ने अवस्था छ र धेरै मानिसहरू कांग्रेस टुक्रियोस् भन्ने चाहँदैनन्। त्यसैले अहिले यो विषय बहसमै छ। मानिसहरू छलफल गरिरहेका छन्। विशेष महाधिवेशनले कुनै न कुनै निर्णय त लिन्छ तर त्यो निर्णय अत्यन्तै जटिल छ। खुकुरीको धार जस्तै दुवैतिर धार छ। जतातिर परे पनि कांग्रेसलाई क्षति हुने स्थिति देखिन्छ।
- यदि विशेष महाधिवेशनले नेतृत्व परिवर्तन नगर्ने निर्णय गर्यो भने के यो महाधिवेशन गर्नुको अर्थ रहन्छ?
अहिले मुख्य कुरा त विभिन्न ट्र्याकबाट निरन्तर वार्ता र मिलाउने प्रयासहरू भइरहेका छन्। विभिन्न मध्यमार्गी नेताहरूले पहल गरिरहेका छन्। यदि नेतृत्व चयन गर्दा स्पष्ट बहुमतका साथ कांग्रेस टुक्रिन्छ भने त्यसले केही स्पष्टता दिन सक्छ। तर, झिनो अन्तरले पार्टी विभाजन भयो भने त्यो झन् घातक हुन सक्छ। त्यो पार्टीका लागि मात्र होइन, लोकतान्त्रिक प्रक्रियाका लागि पनि घातक हुन सक्छ। जस्तो २०५९ सालमा पार्टी फुट्दा राजाले टेकओभर गरेका थिए। अहिले पनि परिस्थिति निकै नाजुक छ। संविधान कार्यान्वयनको चुनौती छ। यस्तो बेलामा नेपालको लोकतान्त्रिक दल फुट्यो भने त्यसले ल्याउन सक्ने संकटको अनुमान गर्न सकिँदैन। त्यसकारण, अहिले निर्णय भन्दा पनि ‘वेट एन्ड सी’ नै हो।
- यसका दुई सम्भावित परिणाम देखिन्छन्। एउटा, कार्यकर्ताको चाहनालाई सम्बोधन गर्दै नेतृत्वमाथि दबाब सिर्जना गरेर नेतृत्व परिवर्तन र कांग्रेसलाई जनचाहना तथा युवा पुस्ताको अपेक्षाअनुसार रूपान्तरण गर्ने बाटोमा धकेल्न सक्छ। अर्को, कांग्रेस विभाजनतर्फ जान सक्छ। यसले राष्ट्रिय राजनीतिमा के-के प्रभाव पर्ला ?
यदि विभाजन भयो भने यसको असर सबैभन्दा पहिले चुनावमा पर्छ। पार्टी फुट्नु–नफुट्नु ठूलो कुरा होइन। तर पार्टी कमजोर हुँदा जनताले पाउँदै आएका अधिकारहरू खोसिने अवस्था आयो भने त्यो दुर्भाग्यपूर्ण हुन्छ। पार्टी फुट्ला, फेरि जोडिएला, नयाँ पार्टी बन्न सक्छ। तरऽ लोकतान्त्रिक अधिकार नै गुम्ने अवस्था आयो भने त्यो ठूलो क्षति हुन्छ।
