कांग्रेस र देश सुधार्ने १८ उपाय
१. चुनाव हुने, नयाँ सरकार बन्ने तर प्रधानमन्त्री पुरानै हुने, डेढ दशक यता हामीले निरन्तर यो अभ्यास गर्दै आयौं । यसले एकातर्फ नागरिकमा असन्तुष्टि बढायो, नेतृत्वलाई अलोकप्रिय बनायो, अर्कातर्फ सार्थक परिणाम पनि दिन सकेन ।
(बिगतको गल्ती सच्याउँदै यो बिशेष महाधिवेशन उद्घोष गर्दछ– नेपाली काँग्रेसको तर्फबाट भविष्यमा कोही पनि दुइपटक भन्दा बढी प्रधानमन्त्री बन्ने छैनन् । दुई पटक मात्रै प्रधानमन्त्रीको यो नीतिलाई नेपालको संविधानमा लिपिबद्द गर्न नेपाली काँग्रेसले अग्रसरता लिनेछ।)
२) बितेको तीन दशकमा सरकार पटकपटक अस्थिर हुँदा हामीले नीतिगत स्थिरताका लागि सार्थक पहल र सुनिश्चितता गर्न नसक्नु हाम्रो सामान्य गल्ती थिएन । जलविद्युत होस् या कृषि, भौतिक विकास होस् या निजिक्षेत्रलाई गर्ने ब्यवहार, जबजब सरकार बदलियो, त्यसले सबै क्षेत्रलाई असर गर्यो ।
(विगतको गल्ती सच्याउँदै यो विशेष महाधिवेशन संकल्प गर्दछ– देशलाई नीतिगत सुनिश्चितताका साथ अग्रगतिमा लग्न पहल र नेतृत्व गर्नेछौं।)
३) चुनावी गठबन्धन नेपाली राजनीतिमा मतदाताको स्वतन्त्र विवेक एवं पार्टी सदस्यको सम्मानलाई असर पु¥याएको एक अध्याय थियो । यही आत्मसमिक्षा साथ गोदावरीमा सम्पन्न पछिल्लो महासमिति बैठकले आगामी चुनावमा एक्लै प्रतिष्पर्धा गर्ने निर्णय गरेको थियो ।
(बिगतको गल्ती सच्याउँदै महासमितिको त्यो निर्णय स्मरण गर्दै यो बिशेष महाधिवेशन आगामी निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगरी एक्लै प्रतिस्पर्धा गर्ने निर्णय गर्दछ ।)
४) राष्ट्रको बजेट निर्माण गर्दा कतिपय प्रभावशाली नेताहरूको निर्वाचन क्षेत्रमा बढी बजेट खन्याइने र कतिपय क्षेत्रमा भने सांसदको प्रभाव नपुग्दा तुलनात्मक रुपले न्यून बजेट परेको गुनासो संसदमा पटकपटक सुनिएका छन् । नागरिकमा निरंतरता असन्तोष जन्माउने यो प्रवृत्ति देशको ढुकुटीप्रतिको खेलबाड पनि हो ।
(यो विशेष महाधिवेशन यस्तो प्रवृत्ति सम्पुर्ण नियन्त्रण गर्ने संकल्प गर्दै समन्यायिक विकासको अवधारणा मर्यादित ढंगले अवलम्बन गर्ने निर्णय गर्दछ।)
५) बितेका केही दशकमा विकासका कतिपय परियोजना लहडका भरमा अघि बढाइएको देखिन्छ । प्राविधिक रूपमा सम्भाव्य छ भनेर हेरिरहँदा, आर्थिक रूपमा टिकाउ छ कि छैन भनेर गम्भीर परीक्षण नगरिँदा देश ऋणको पासोमा पर्ने खतरा रहन्छ ।
(बिगतका यस्ता गम्भीर गल्ती केलाउँदै लहडका परियोजना नबढाउने, कुनै पनि महत्वपूर्ण प्रस्तावलाई विज्ञ दृिष्टको संलग्नताबाट भायबल रहे–नरहेको परिक्षण र आवश्यकता पर्दा संसदीय छलफलबाट मात्रै अघि बढाउने निर्णय यो बिशेष महाधिवेशन गर्दछ।)
६) पुँजीगत बजेट खर्चको क्षमता सबल ढंगले बढ्न नसकेको अवस्थालाई संतोषजनक सुधार गर्न नसक्नु हाम्रो शासकीय गल्ती प्रमाणित भएको छ ।
(भौतिक पूर्वाधार निर्माण कार्य ३ सिफ्टमा गर्न आवश्यक कानुनी एवं व्यवहारिक बन्दोबस्त मिलाउन पहल गर्ने,असारे विकास रोक्ने र विकासका कार्यमा तीन तहका सरकारबीच काम बाँडफाँडको सन्तुलन मिलाउने संकल्प र प्रतिबद्धता यो बिशेष महाधिवेशन गर्दछ।)
७) गैह्र आवासीय नेपाली नागरिकले देशको विकासमा योगदान गर्न अपेक्षा गरेको नागरिकता, मतदानको अधिकार र लगानी सहजीकरणको विषयलाई उपयुक्त सम्बोधन गर्न विगतमा कमजोरी, गल्ती र ढिलाइ भएको छ ।
(यो आत्मसाथ गर्दै संविधानको भावना र सम्मानित सर्वोच्च अदालतको आदेश बमोजिमको बन्दोबस्त मिलाउन सहजीकरण, दबाब र नेतृत्वको भूमिका निभाउने संकल्प यो बिशेष महाधिवेशन गर्दछ।)
८) बुढीगण्डकी परियोजना निर्माणका लागि रेडि टु टेक अफ स्थितिमा छ । फेवातालभन्दा १५ गुणा ठूलो ताल बन्ने, १२ सय मेगावाटको बिधुत उत्पादन हुने, नेप्लिज फल्स निर्माण गरेर पर्यटनलाई बल पुग्ने, बगेको पानी चितवनमा संकलन गरेर मधेसको पिउने पानी, सिंचाइ र सुख्खा समस्या हल हुने यस्तो परियोजना निर्माण शुरु गरेर नागरिकमा आशा जगाउन ढिलाइ गर्नु हाम्रो गल्ती थियो । सुशासनको अभाव र हाम्रो शासकीय कमजोरीले यसको लगानी सुनिस्चितता हुन नसकेको निर्विवाद छ ।
(विशेष महाधिवेशन सरकार, डायस्पोरामा रहेका गैह्र आवासीय नेपाली अनि निजिक्षेत्र (GDPP model) गांसेर यो परियोजनामा अघि बढाउन आगामी सरकार र संसदलाई अपील गर्दछ ।)
९) विभिन्न राजनैतिक नियुक्ति गरिँदा बिषयगत योग्यता मापनमा चुक्ने अनि व्यक्तिको नैतिक पृष्ठभुमि परिक्षणमा सतर्कता नराख्ने कार्य विगतमा पटकपटक भएको छ । त्यसले,संस्थाको गरिमा र डेलिभरी क्षमता दुवैमा आघात पुर्याएको छ ।
(इमानदारी, नैतिकता र चरित्रको मापन गर्ने Integrity Vetting System अनुरुप ट्र्याक रेकर्ड हेरेर मात्रै चयन गर्ने पद्धति बसाउने निर्णय यो बिशेष महाधिवेशन गर्दछ ।)
१०) विश्वविद्यालयको उपकुलपति, रेक्टर या रजिस्ट्रार जस्तो जिम्मेवार नेतृत्वको चयन राजनैतिक भागबन्डाका आधारमा गरिए । संवैधानिक नियुक्तिमा समेत भागबन्डाको दुःखद खबर देशले सुन्नुपर्यो । देशको प्रतिनिधित्व गरेर राजदुतको जिम्मेवारी सम्हाल्न कुटनैतिक ज्ञान र समन्वय दक्षता भएका सुयोग्य व्यक्तित्व कयौं हुँदाहुँदै भागबन्डाको प्रवृत्ति यसमा पनि प्रवेश भयो । यो सर्वथा गल्ती थियो ।
(विगतका यस्ता गम्भीर गल्ती सच्याउँदै विशिष्ट नेतृत्व चयनमा बिशिस्ट योग्यता मापन गर्ने मर्यादित मापदण्डको विकास हामी गर्नेछौं।)
११) शिक्षा विधेयक ल्याउन ढिलाइ गरिएको गल्तीले समग्रमा शैक्षिक क्षेत्रमा मनोबैज्ञानिक असर र ब्यवहारिक चुनौती बढेको छ । विधेयक माग गरेर आन्दोलन गर्नुपर्ने अवस्था आउनु हामी सबैको गल्ती थियो ।
(आगामी संसदको पहिलो सेसनबाट नै शिक्षा विधेयकलाई शिक्षक महासंघ र अन्य सरोकारवालाहरुसँगको सम्झौताको जगमा पारित गर्नेगरी पहलकदमी गर्ने निर्णय यो बिशेष महाधिवेशन गर्दछ।)
१२) शैक्षिक स्थलमा बाहुबल प्रयोगको गलत प्रवृत्ति बितेको दशकमा बढेर गएको छ । बिपि कोइराला भन्नुहुन्थ्यो शैक्षिक स्थल बाहुबलको प्रयोग गर्ने थलो होइन । यो मान्यता बलियो रुपमा स्थापित गर्न सकिएको छैन कतिपय शैक्षिक प्रतिस्ठानहरुमा बेलाबखत बाहुबली प्रवृत्ति प्रकट भएको छ ।
(यो विसंगति कडाका साथ सच्याउन सबैलाई अपीलगर्दै पार्टी निकटका कुनैपनी विद्यार्थीले कहिँ पनि त्यस्तो दुव्र्यवहारको अराजक गतिविधि गरे तत्कालै सदस्यताबाट मुक्त हुने प्रक्रिया तय गर्ने उद्घोष बिशेष महाधिवेशन गर्दछ ।)
१३) राजनीतिमा स्वच्छ ट्र्याक रेकर्ड रहेका व्यक्तिहरुलाई प्रोत्साहित र प्रबल बनाउँदा त्यसले समग्र राजनीतिको छविलाई बल पुग्ने हुन्छ । तर सामाजिक विसंगतिमा सरिक रहेकाले पनि राजनीतिका विभिन्न जिम्मेवारी सम्हालेका विवरण यदाकदा सार्वजनिक भएका छन् ।
(काँग्रेसको कोहिपनी सदस्य जातीय विभेद, घरेलु हिंसा, बाल श्रम लगायतका सामाजिक विसंगतिमा संलग्न प्रमाणित हुनासाथ निजको पार्टी सदस्यता नरहने प्रावधान कडाइका साथ कार्यान्वयन गर्ने निर्णय बिशेष महाधिवेशन गर्दछ) ।
१४) नागरिक पंक्तिमा सदैव रहिआएको एक असन्तुष्टि छ, सरकारी प्रशासनका कतिपय कार्यालयमा सेवा लिन जाँदा जहिल्यै पनि यो या त्यो झन्झट ब्यहोर्नुपर्ने हुन्छ । त्यस्तो झन्झट ब्यहोर्नुपर्दा त्यो सेवाग्राहीले निरन्तर दल या सरकारसँग असन्तुष्टि राख्दै आयो, अत त्यसलाई अविलम्ब हलमा पु¥याउनुपर्छ भन्ने गम्भीर पहलकदमी हामीबाट हुनसकेन । यो हाम्रो गल्ती थियो ।
(प्रशासनिक ढिलासुस्ती अन्त्य गर्न आवश्यक ब्यवहारिक बन्दोबस्त मिलाउने दृष्टि र यो जना तर्जुमा गरेर त्यसलाई उत्प्रेरणा साथ कार्यान्वयनमा लग्ने संकल्प यो विशेष महाधिवेशन गर्दछ।)
१५) श्रमिक क्षेत्रले न्युनतम ज्याला पाउन पनि संघर्ष गर्नुपर्ने स्थिति रहिआयो । अनौपचारिक क्षेत्रका श्रमिक योगदानमा आधारित सुरक्षाको दायरा बाहिरै रहे । अनिश्चित श्रम र अनिश्चित जिन्दगीको तिनको यात्रा निरन्तर कष्टकर रह्यो । यस्तो स्थितिको समुल समाधान नपहिल्याउनु हाम्रो गल्ती थियो ।
(विशेष महाधिवेशन संकल्प गर्दछ– श्रमिक आवद्ध संस्थाहरुको साझा दृस्टी गाँस्दै नेपाल ट्रेड युनियन काँग्रेससँगको सहकार्यमा नेपाली काँग्रेसले यसको हलका लागि पहल, नेतृत्व र निरुपण गर्ने/गराउनेछ।)
१६) जनप्रतिनिधित्वमा नातावाद झल्किएको खासगरी एकाघरका सदस्य (मुलत: श्रीमान/श्रीमती) एकैपटक एउटै तहको जनप्रतिनिधि बनेको विषय नागरिक पंक्तिमा आलोचित र अलोकप्रिय बनेको थियो ।
(गोदावरी महासमितिले बैठकबाट पारित राजनैतिक दस्तावेजमा उल्लेखित सन्दर्भ स्मरण गर्दै यो बिशेष महाधिवेशन त्यसलाई कडाइका साथ अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्दछ।)
१७) पार्टी भित्रको आन्तरिक सुशासनमा प्राय प्रश्न उठ्ने गरेको बिषय हो: पार्टीका उम्मेदवारहरु चयनमा रहेको परम्परागत प्रणाली । हामीले उम्मेदवार चयनका लागि लोकप्रियता, योग्यता र न्यायको मिश्रण सहितको नयाँ पद्धति विकास गर्न सकेका छैनौं ।
(प्राइमरी निर्वाचनमा पाइलट प्रोजेक्ट हुँदै क्रमशः पुग्ने गोदावरी महासमितिबाट पारित यो जनालाई कार्यान्वयनमा लग्ने प्रतिबद्धता गर्दछ यो बिशेष महाधिवेशन।)
१८) पार्टीको केन्द्रदेखि वडा–टोलसम्मका पदाधिकारी या सदस्य एवं पार्टीका तर्फबाट विभिन्न तहमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुको कार्यशैलीले सुशासनलाई कत्तिको बढावा दिएको छ या असर पु¥याएको छ, त्यसको अनुगमन गर्ने पद्धतिको विकास नगर्नु विगतको हाम्रो गल्ती मध्ये एक थियो ।
(सो प्रयोजनका लागि आन्तरिक सुशासन आयोग गठन गर्ने निर्णय यो बिशेष महाधिवेशन गर्दछ । आयोगको कार्यविधि केन्द्रीय कार्यालयले निर्धारण गर्नेछ।)
(नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौंको भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनको बन्दसत्रमा पेश गरेको प्रस्तावबाट ।)
