एकताका आतंक मच्चाउने मनिषलाई प्रचण्डको ओत
काठमाडौं । पूर्वमा भूमिगत संगठनको नाममा केही वर्षअघिसम्म आतंक मच्चाउथे– मनिष हेल्लोक ।
जलविद्युत् क्षेत्रका प्रबद्र्धक र कर्मचारीलाई बन्धक बनाउँथे । फिरौती माग्थे । अलैँची व्यवसायीसँग चन्दा असुल गर्थे ।
विस्फोटक पदार्थ ठाउँठाउँमा राखेर शान्ति सुरक्षामा चुनौती दिने काम गर्थे ।
माओवादी युद्धपछि पूर्वी भेगमा कुनै संगठनले भूमिगत रूपमा आतंक मच्चायो भने त्यो मनिष नेतृत्वको किरात लिम्बुवान राष्ट्रिय परिषद्ले थियो ।
हाराहाङ समूहले केहीपछि खासगरी ताप्लेजुङको उत्तर–पूर्वी भेगमा आतंक मच्चायो ।
तर, केही समयमै तत्कालीन ताप्लेजुङका डीएसपी शान्तिराज कोइरालाले हाराहाङको आतंकवादी गतिविधि नियन्त्रणमा लिए ।
मनिष भने पक्राउ पर्ने र फेरि छुुटेर आतंक मच्चाउँथे । २६ भदौ २०७२ मा पक्राउ पर्दा त एक थान पेस्तोल, २ थान म्यागजिन र एक राउन्ड गोलीसहित पक्राउ परे ।
उनको पक्राउ पर्ने र छुट्ने साँधी नै भएन । उनी अरुण–सभाखोला पूूर्व स्वायत्त लिम्बुवानको माग गर्थे । पछिल्लो समय उनी लिम्बुवान क्रान्तिकारी पार्टीका अध्यक्ष थिए ।
उनै मनिष सोमबार नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा मिसिए । उनलाई संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी प्रवेश गराए ।
प्रचण्ड औधी खुसी भए । कांग्रेस र एमालेलाई कटाक्ष गरे
‘अरु ठूला भनिएकाहरू विभाजनको बीचबाट गुज्रिएका छन् । धेरैभन्दा धेरै राष्ट्रिय शक्तिहरूबीच एकता गरेर समाजवादी आन्दोलनमा अग्रसर हुँदैछौँ,’ प्रचण्डले भने ।
