`

सभापति देउवादेखि राष्ट्रपति पौडेलसम्म कांग्रेस विशेष महाधिवेशनको मतदाता !

Nepal One HD २९ पुष २०८२ १४:३९
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत महाधिवेशन प्रतिनिधिहरूको मतदाता नामावली सार्वजनिक गरिएको छ । सार्वजनिक नामावलीमा पार्टी सभापति शेरबहादुर देउवादेखि राष्ट्रपति रामचन्द्र पौडेलसम्मको नाम समावेश गरिएको छ ।
केन्द्रीय निर्वाचन समितिका प्रमुख सीताराम केसीका अनुसार चौधौं महाधिवेशनमा रहेका कुल ४ हजार ७४३ महाधिवेशन प्रतिनिधिमध्ये पार्टी परित्याग गरेका तथा निधन भइसकेका १०५ जनाको नाम हटाएर ४ हजार ६३८ जनाको अन्तिम मतदाता नामावली प्रकाशन गरिएको हो । अघिल्लो महाधिवेशनमा प्रकाशित नामावलीलाई नै आधार मानेर यस विशेष महाधिवेशनका लागि मतदाता सूची तयार गरिएको केसीले जानकारी दिए ।

भृकुटीमण्डपमा जारी बन्दसत्रका क्रममा मतदाता नामावली प्रकाशन गरिएको हो । वरिष्ठ अधिवक्ता सीताराम केसीको संयोजकत्वमा गठित पाँच सदस्यीय निर्वाचन समितिले निर्वाचनसम्बन्धी सम्पूर्ण कार्यतालिका सार्वजनिक गरेको छ । सो तालिकाअनुसार आज राति ९ बजेदेखि १ बजेसम्म मतदान हुने व्यवस्था गरिएको छ । निर्वाचन समितिले जारी गरेको सूचनाअनुसार आज दिउँसोदेखि नै निर्वाचन प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । कार्यतालिकाअनुसार साढे १२ बजेसम्म प्रथम मतदाता नामावली प्रकाशन गरिएको र दिउँसो २ बजे अन्तिम मतदाता नामावली सार्वजनिक गरिएको छ ।

निर्वाचन कार्यक्रमअन्तर्गत दिउँसो २ देखि ३ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गर्ने, साढे ४ बजे उम्मेदवारहरूको प्रथम नामावली प्रकाशन गर्ने र साँझ ८ः४५ बजे अन्तिम उम्मेदवार नामावली सार्वजनिक गर्ने कार्यसूची तय गरिएको छ । त्यसपछि राति ९ बजेदेखि मतदान सुरु हुनेछ । पार्टी स्रोतका अनुसार विशेष महाधिवेशन आह्वानका लागि ६३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेको दाबी गरिएको छ । यद्यपि, यस विशेष महाधिवेशनलाई सभापति देउवा पक्षले भने औपचारिक रूपमा स्वीकार नगरेको जनाइएको छ । मतदान सम्पन्न भएपछि मतगणना र नतिजा घोषणा गर्ने प्रक्रिया पनि निर्वाचन समितिको तालिकाअनुसार अघि बढाइनेछ । विशेष महाधिवेशनले पार्टीको आगामी नेतृत्व र आन्तरिक शक्ति सन्तुलनमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

 

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *