अपमानजनक बहिर्गमन नजिक शेरबहादुर देउवा
काठमाडौं । नेपाली कांग्रेसको नियमित र विशेष महाधिवेशन पक्षधरहरू मंगलबार बिहानैदेखि वार्तामा छन् ।
वार्ता भइरहेको स्थान लाजिम्पाटको एउटा घर हो । वार्ता निष्कर्षमा पुगेको छैन । कांग्रेस विभाजनको संकट टरेको छैन ।
वार्तामा देउवाले रमेश लेखकको कमान्डमा एउटा टिम खटाएका छन् । गगन–विश्वले प्रदीप पौडेलको कमान्डमा अर्को टिम वार्तामा सक्रिय छ ।
वार्तामा सहभागी एक नेताका अनुसार गगन–विश्व टिमबाट तीनवटा प्रस्ताव अघि सारिएको छ ।
पहिलो– देउवाले आगामी जेठसम्ममा पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति दिनुपर्ने । दोस्रो– आगामी प्रतिनिधिसभा निर्वाचनमा टिकट दिँदा देउवाको हस्ताक्षर चल्न नहुने । तेस्रो, देउवा चुनाव लड्न नपाउने ।
यी तीनवटा प्रस्ताव वार्ताको केन्द्रमा छन् । तर, समझदारी जुटेको छैन । तर, वार्ता सकारात्मक भइरहेको ती नेताको दाबी छ । ‘वार्तामै छौँ अहिले पनि । पार्टी फुट्न दिनु हुँदैन भन्नेमा हाम्रो मतो छ र छलफल भइरहेको छ, आशा छ राम्रो समाचार दिन प्रयत्नमा छौँ,’ तीन नेताले बताए ।
जेन–जी विद्रोहपछि देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति दिए । अहिले पनि कार्यवाहक खड्का नै छन् । तर, पार्टीको कार्यकारी अधिकार आफूमा सीमित गरिदिएका छन् ।
पछिल्ला केन्द्रीय समिति र कार्यसम्पादन समिति बैठकको अध्यक्षता देउवाले नै गरे, कार्यकारी भूमिकामा आफैं क्रियाशील रहेको स्पष्ट सन्देश दिए । यो महामन्त्रीहरू गगन–विश्वलाई पाच्य भएन । जतिबेला देउवाले खड्कालाई कार्यवाहक दिए, देउवाको त्यो कदम गगन–विश्वले स्वागत गरे ।
तर, एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि देउवा अनपेक्षित रूपमा देउवा सक्रिय भए । देउवाको यो भूमिकाले गगन–विश्वलाई विशेष महाधिवेशन गर्न दबाब दियो, जुन अहिले भृकुटीमण्डपमा जारी छ ।
देउवा र गगन–विश्वपक्षबीच नाटकीय ढंगको कुनै समझदारी नभए बुधबार गगन कांग्रेसको सभापति बन्ने छन् । देउवा अपदस्त हुनेछन् ।
कांग्रेस राजनीतिबाट देउवा अपमानजनक ढंगले बहिर्गमित हुनेछन् । अनि, ४९ वर्षे गगनले कांग्रेस हाँक्नेछन् ।
जबकि, केन्द्रीय कार्य समिति र केन्द्रीय कार्यसम्पादन समितिमा देउवाको वर्चश्व छ । पार्टीको यी दुवै निकायमा उनी शक्तिशाली छन् ।
तर, ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर उनी पदच्युत गर्ने आधार बनेको छ ।
