ओली-बालेनसँग रञ्जित भिडाउँदै प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले युवा नेता रञ्जित तामाङलाई झापा– ५ मा उम्मेदवार बनाएको छ ।
उनलाई संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार उम्मेदवारको टिकट दिए । अब उनले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन)सँग चुनावी प्रतिस्पर्धा गर्नेछन् ।
तामाङले २०७९ को प्रतिनिधिसभा निर्वाचनमै त्यहाँबाट चुनाव लड्न चाहेका थिए ।
तर, नेपाली कांग्रेससँग उनी आबद्ध तत्कालीन नेकपा माओवादी केन्द्रले चुनावी गठबन्धन गरेपछि उनले चुनाव लड्न पाएनन् ।
त्यसबेला कांग्रेसका खगेन्द्र पाण्डव अधिकारी गठबन्धनको उम्मेदवार थिए । उनी ओलीसँग दोब्बर बढी मतान्तरले पराजित भए । ओलीलाई राप्रपाको समर्थन थियो ।
यसपटक भने तामाङले चुनाव लड्न टिकट पाए । यो उनको पहिलो संसदीय निर्वाचनमा प्रतिस्पर्धा हुनेछ ।
त्यहाँ नेपाली कांग्रेसले यसपटक विश्वद्विप लिङ्देनलाई टिकट दिने चर्चा गाइँगुइँ सुनिन्छ । उनी २०६४ सालको संविधानसभा निर्वाचनमा ओलीलाई पराजित गर्ने पूर्वमाओवादी नेता हुन् ।
२०७४ को प्रतिनिधिसभा निर्वाचनअघि कांग्रेस प्रवेश गरेका लिङ्देन यसपटक फेरि मैदानमा उत्रिने सम्भावना देखिएको छ ।
२०४८ सालदेखि यता भएका ७ वटामध्ये छ वटा निर्वाचनमा ओली विजयी भए । निर्वाचनको यो परिणामले भन्छ– झापा– ५ ओली र उनको दल एमालेको बलियो प्रभाव क्षेत्र हो ।
त्यहाँबाट एकपटक पनि कांग्रेस र राप्रपाले निर्वाचन जितेकै छैनन् । सोही क्षेत्रबाट युवा नेता रञ्जितलाई नेकपाले चुनावी मैदानमा उतारेकाे हाे ।
