महानगरबाट राजिनामा नदिइ घण्टीघर जाँदै बालेन
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आज पदबाट राजिनामा दिएर औपचारिक रुपमा राष्ट्रिष स्वतन्त्र पार्टी प्रवेश गर्ने तय गरिएको थियो । तर, उनी राजिनामा नबुझाई वनस्थलीमा रहेको रास्वपा कार्यालय जाने भएका छन् ।
फागुन २१मा हुने प्रतिनिधि सभा निर्वाचनमा रास्वपाका तर्फबाट प्रधानमन्त्रीको दावेदार बन्दै झापा-५बाट उम्मेदवार बन्न लागेका शाहले आज राजिनामा दिने बताइएको थियो ।
राजिनामा नदिनुको कारण प्रष्ट नभए पनि उपमेयर सुनिता डंगोलले राजिनामा बुझ्ने विषयमा कुनै चासो नदेखाएपछि मेयर शाह राजिनामा नबुझाई राष्ट्रिय राजनीतिमा होमिन लागेको महानगरपालिका स्रोतले बताएको छ ।
प्रतिनिधि सभा सदस्यमा उम्मेद्वार बन्नका लागि राजिनामा दिनु अनिवार्य भने छैन । निर्वाचन आयोगका अनुसार स्थानीय तह, प्रदेश वा संघीय तहका कुनै पनि जनप्रतिनिधिले प्रतिनिधि सभामा उम्मेदवारी दिए स्वत: पदमुक्त हुनेछन् ।
त्यसैले, राजनीमा नबुझाइ उम्मेदवारी दिएमा उम्मेदवारी दर्ता भए पनि उनी स्वत: मेयरबाट बिदा हुनेछन् । यसपछि निमित्त मेयरको रुपमा सुनिता डंगोलले महानगर हाँक्नेछिन् ।
आज औपचारिक रूपमा रास्वपा प्रवेश गर्न लागेका बालेन सोमबार रास्वपाको भेलालाई सम्बोधन गर्न जनकपुर जाँदै छन् । मंगलबार उम्मेदवारी दर्ताका लागि झापा जाने कार्यक्रम रहेको मेयर शाहको सचिवालयले बताएको छ ।
