देशको विकासका लागि नीति निर्माणमा प्राथमिकता: एमाले उम्मेदवार ढुंगेल
रामेछाप। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा (एमाले) रामेछापका उम्मेदवार माधव ढुङ्गेलले रामेछाप जिल्ला र समग्र देशको विकास तथा समृद्धिका लागि आवश्यक नीति निर्माण र त्यसअनुसारका कानुन बनाउनु आफ्नो प्रमुख प्राथमिकता रहेको बताएका छन्।
शनिबार बिहान नेकपा (एमाले) रामेछापकाे प्रचार तथा प्रकाशन विभागले मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले आगामी निर्वाचनमा एमाले र आफूलाई मत दिनुपर्ने आधारबारे स्पष्ट धारणा राखेका हुन् । उम्मेदवार ढुङ्गेलले देशमा राजनीतिक स्थिरता, विकास, समृद्धि र दिगोपन सुनिश्चित गर्न नेकपा (एमाले) नेतृत्वको सरकार आवश्यक रहेको उल्लेख गरे। उनका अनुसार मुलुकलाई स्थायित्वको मार्गमा अघि बढाउन एकल नेतृत्वको सक्षम सरकार गठन अपरिहार्य छ।
कार्यक्रममा उनले भदौ २३ र २४ गते भएका विध्वंस र विनाशका घटनाबारे पनि टिप्पणी गर्दै त्यस्ता घटना कुनै नेपालीले गर्न नसक्ने बताए। उनले देशमा सुरक्षाको प्रत्याभूति दिलाउन तथा यस्ता गतिविधि रोक्न एमाले नेतृत्वको सरकार आवश्यक रहेको धारणा व्यक्त गरे ।
उम्मेदवार ढुङ्गेलले रामेछाप जिल्ला कृषि, पर्यटन, जलस्रोत लगायतका क्षेत्रमा निकै धनी रहेको उल्लेख गर्दै यी सम्भावनालाई व्यावसायिक रूपमा विकास गर्ने योजना अघि सारेका छन्। उनले कृषि र पर्यटन क्षेत्रलाई व्यवस्थित र व्यवसायिक बनाउने, स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउने र रोजगारी सिर्जना गर्ने नीति निर्माणमा आफू निरन्तर लाग्ने बताए।
त्यसैगरी उनले रामेछापका जलस्रोतबाट प्राप्त हुने रोयल्टी रामेछापका जनताले नै पाउने व्यवस्था सुनिश्चित गर्न आवश्यक कानुन बनाउन प्रतिनिधि सभामा पहल गर्ने प्रतिबद्धता जनाए। विदेश पलायन भएका युवालाई देशमा फर्किएर काम गरेर बस्ने वातावरण बताउनु आफ्नाे प्राथिमक कार्य बनेकाे उनले स्पष्ट पारे ।
उम्मेदवार ढुङ्गेलले आफू निर्वाचन जितेर प्रतिनिधि सभामा पुगेपछि रामेछाप र रामेछापवासीको शिर झुक्न नदिने दाबी गरे। उनले जनताको विश्वासलाई सम्मान गर्दै जिल्लाको विकासका लागि दृढतापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले आफू पहिलो पटक निर्वाचनमा सहभागी हुन लागेको उल्लेख गर्दै नयाँ सोच र खोज गर्ने युवाहरूको मागलाई आफ्नो उपस्थितिले सम्बोधन गर्ने विश्वास दिलाए। उनले रामेछापवासीलाई एक पटक आफूलाई जाँचेर हेर्न आग्रह गर्दै विकास र समृद्धिको यात्रामा साथ दिन तथा आफूलाई निर्वाचित गर्न हार्दिक अनुरोध गरे।
