`

क्यानाडाको अर्थतन्त्रमा सेवा क्षेत्रको महत्त्वपूर्ण भूमिका

Nepal One HD १८ माघ २०८२ ८:०९
विश्व

ओटावा । क्यानडाको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जिडिपी) नोभेम्बर सन् २०२५ मा लगभग स्थिर रहेको छ । वस्तु उत्पादन गर्ने उद्योगमा आएको सङ्कुचनले सेवा क्षेत्रको विस्तारलाई सन्तुलनमा ल्याएको तथ्याङ्क क्यानाडाले शुक्रबार सार्वजनिक गरेको छ ।

राष्ट्रिय तथ्याङ्क निकाय क्यानडाका अनुसार नोभेम्बर महिनामा वस्तु उत्पादन गर्ने उद्योग ०.३ प्रतिशतले घटेका छन् । पछिल्ला चार महिनामध्ये यो तेस्रो पटक गिरावट आएको हो । यस गिरावटको मुख्य कारण उत्पादन (म्यानुफ्याक्चरिङ) क्षेत्र तथा कृषि, वन, माछापालन र सिकार सम्बन्धी क्षेत्रमा आएको सङ्कुचन रहेको छ ।

यता सेवा उत्पादन गर्ने उद्योग भने ०.१ प्रतिशतले बढेका छन् । खुद्रा व्यापार, शैक्षिक सेवा, तथा यातायात र भण्डारण क्षेत्रमा देखिएको विस्तारले सेवा क्षेत्रलाई सकारात्मक बनाएको तथ्याङ्क क्यानाडाले जनाएको छ । प्रारम्भिक तथ्याङ्क अनुसार डिसेम्बर २०२५ मा वास्तविक जिडिपी ०.१ प्रतिशतले वृद्धि भएको अनुमान गरिएको छ ।

यस अवधिमा उत्पादन र थोक व्यापार क्षेत्रमा वृद्धि देखिए पनि खानी, ढुङ्गा उत्खनन तथा तेल र ग्यास उत्खनन क्षेत्रमा आएको गिरावटले समग्र वृद्धिलाई आंशिक रूपमा सन्तुलनमा ल्याएको छ । डिसेम्बरको अनुमानसमेत समेट्दा, उद्योगगत वास्तविक जिडिपीको आधारमा क्यानाडाको अर्थतन्त्र सन् २०२५ को चौथो त्रैमासिकमा ०.१ प्रतिशतले घटेको देखिन्छ भने समग्र सन् २०२५ मा अर्थतन्त्र १.३ प्रतिशतले वृद्धि भएको तथ्याङ्क क्यानाडाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *