सेपाकताक्रो च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको बिदाइ
काठमाडौँ, १९ माघ : श्रीलङ्काको कोलम्बोमा हुने छैटौँ दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिपमा सहभागी हुने १० खेलाडीसहित १४ सदस्यीय नेपाली टोलीलाई आज बिदाइ गरिएको छ । यही फेब्रुअरी ४ देखि १० तारिखसम्म हुने प्रतियोगितामा सहभागी हुने टोलीको आज विदाइ गरिएको हो ।
नेपाली टोलीमा पुरुष खेलाडीमा दिपेशजङ्ग थापा, रोशन तामाङ, रविन भट्टराई, राजन नेपाली र विकास कुमाल रहेका छन् । महिलामा सुमित्रा डङ्गोल, चन्द्रा चौधरी, इनु चौधरी, उषा महर्जन र पायल शाही छन् । पुरुष÷महिला दुवै टोलीले रेगु र क्वाड्रेन्ट स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् ।
अफिसियलमा नेपाल सेपाकताक्रो सङ्घका अध्यक्ष नेत्रप्रसाद गुरुङ, टोली व्यवस्थापकमा अक्कलबहादुर तामाङ तथा प्रशिक्षकमा नरबहादुर थापा र श्यामबहादुर श्रेष्ठ रहेका छन् ।टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले आज यहाँ आयोजित एक कार्यक्रममा बिदाइ गर्नुभयो । टोली बुधबार श्रीलङ्का जाने छ ।
