`

टी–२० विश्वकप : नेपाल–इङ्ग्ल्यान्ड ८ फेब्रुअरीमा भिड्दै

Nepal One HD २० माघ २०८२ १३:४३
खेलकुद

काठमाडौं । भारत र श्रीलंकाको संयुक्त आयोजनामा सुरु हुन लागेको ‘आईसीसी टी–२० विश्वकप २०२६’ मा नेपालको पहिलो खेल ८ फेब्रुअरीमा इंग्ल्यान्डविरुद्ध हुँदै छ ।

भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा हुने खेल नेपाली समयअनुसार आइतबार दिउँसो ३ः३० बजे सुरु हुनेछ ।

विश्व क्रिकेटको शक्तिशाली टोली इंग्ल्यान्डसँगको यस प्रतिस्पर्धालाई नेपाली क्रिकेटका लागि महत्वपूर्ण मापनका रूपमा हेरिएको छ ।

पछिल्ला वर्ष अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो उपस्थिति बलियो बनाउँदै आएको नेपाल अब पूर्ण रूपमा अपरिचित टोली रहेन ।

यद्यपि, अनुभव, व्यावसायिकता र पूर्वाधारमा इंग्ल्यान्ड नेपालभन्दा निकै अगाडि छ । त्यसैले यो खेल नेपालका लागि अंकको हिसाबभन्दा पनि आत्मविश्वास, अनुशासन र प्रतिस्पर्धात्मक सोचको परीक्षा हुनेछ ।

टी–२० क्रिकेटको अनिश्चित स्वरूपले नेपाललाई अवसर पनि प्रदान गर्छ । यदि नेपाली टोलीले दबाब नलिएर साहसी र योजनाबद्ध क्रिकेट खेल्न सके खेल अन्तिमसम्म प्रतिस्पर्धात्मक बनाउन सक्ने विश्वास छ ।

नेपाली टोलीको मुख्य चुनौती ब्याटिङमा निरन्तरता कायम गर्नु हो भने बलिङ र फिल्डिङ पक्ष तुलनात्मक रूपमा बलियो मानिन्छ ।

विश्वकप नेपालका लागि जितको सपना भन्दा पनि सिकाइ, अनुभव र भविष्यको खाका कोर्ने महŒवपूर्ण अवसर बनेको छ ।

इंग्ल्यान्डविरुद्धको पहिलो खेलले नेपाली टोली कस्तो मानसिकतासहित विश्व मञ्चमा उभिन्छ भन्ने स्पष्ट संकेत गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *